काठमाडौं। सोलुखुम्बुमा ८६ मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको साहस ऊर्जाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी तीव्र पारेको छ। कम्पनीले अर्को ठूलो आयोजनामा लगानी जुटाउने उद्देश्यका साथ हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीको यो आक्रामक विस्तार योजना र हाल सञ्चालनमा रहेको आयोजनाको बलियो प्रदर्शनलाई लक्षित गर्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साहस ऊर्जाको साख मूल्यांकन (रेटिङ) मा समेत सुधार गरेको छ। इक्राले कम्पनीको इस्युअर रेटिङलाई ’ृत्रिपल बी’ बाट बढाएर ’त्रिपल बी’ कायम गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको र क्रेडिट जोखिम न्यून रहेको संकेत गर्दछ।
किन ल्याउँदै छ हकप्रद
साहस ऊर्जाले गोरखामा निर्माण हुन लागेको ३४१ मेगावाटको बूढी गण्डकी जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताको रूपमा प्रवेश गर्न हकप्रद सेयरको सहारा लिएको हो। यो आयोजना ’टाइम्स इनर्जी प्राइभेट लिमिटेड’ मार्फत अगाडि बढाइँदै छ, जसमा साहस ऊर्जाको ७४ प्रतिशत सेयर स्वामित्व छ।
साहस ऊर्जाले आयोजनामा कुल ९ अर्ब रुपैयाँ (इक्विटी) लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सोही इक्विटी रकमको करिब ७५ प्रतिशत हिस्सा (५१ प्रतिशत कुल प्रतिबद्धतामध्ये) १०० प्रतिशत हकप्रद सेयर जारी गरेर जुटाउने कम्पनीको योजना छ।
यसका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृतिसमेत प्राप्त गरिसकेको छ। हकप्रदबाट संकलित बाँकी रकम र आन्तरिक आम्दानीलाई बूढी गण्डकी आयोजना सम्पन्न गर्न उपयोग गरिनेछ।
हालको व्यापार र उत्पादन अवस्था
कम्पनीले सञ्चालन गरिरहेको ८६ मेगावाटको सोलु खोला (दूध कोसी) आयोजनाको प्रदर्शन उत्साहजनक छ। आर्थिक वर्ष २०२५ मा यसले सम्झौता अनुसारको ऊर्जाको ८९ प्रतिशत विद्युत् उत्पादन गरेको थियो भने चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ७ महिनामा उत्पादन १०१ प्रतिशत पुगेको छ।
कम्पनी वित्तीय रूपमा सबल देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले २ अर्ब ६४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। चालू आवको पहिलो ६ महिनामा मात्रै १ अर्ब ७० करोड ५० लाख रुपैयाँ आम्दानी भएको छ, जसमा खुद नाफा मार्जिन ५३ प्रतिशत जस्तो उच्च देखिएको छ। आयोजनाको प्रति मेगावाट लागत १७ करोड २० लाख रुपैयाँ मात्र रहेकाले यसले कम्पनीलाई बढी नाफा कमाउन सहयोग पुगेको छ।
साहस ऊर्जाले बैंकहरूको ऋण भुक्तानी तालिकाअनुसार नै सावाँब्याज तिरिरहेको छ। कुल ऋण सीमा १३ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट घटेर ११ अर्ब २२ करोड ५० लाख रुपैयाँमा झरेको छ। कम्पनीको ऋण र नेटवर्थको अनुपात १.४ गुणामा सीमित छ भने ब्याज तिर्न सक्ने क्षमता ४.३ गुणा पुगेको छ। बैंकको किस्ता तिर्नका लागि कम्पनीले छुट्टै डेप्ट सर्भिस रिजर्भ अकाउन्टमा पर्याप्त रकम जम्मा गरेको छ, जसले दुई त्रैमासको बैंक दायित्व धान्न सक्छ।
कम्पनीको नेतृत्व जलविद्युत् क्षेत्रका अनुभवी प्रवर्द्धकले गरिरहेका छन्। हिमप्रसाद पाठक कम्पनीका अध्यक्ष हुन् भने सागर पाठक, सावित्री अधिकारी, अनुपमा थापा र सुशील थापा प्रमुख संस्थापक सेयरधनीका रूपमा रहेका छन्। ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि यस्तो पुँजी दोब्बर हुनेछ।