काठमाडौं। पूर्व-पश्चिम राजमार्गअर्न्तगत पर्ने पथलैया-हेटौँडा-नारायणगढ सडक खण्ड ५५ अर्ब खर्चमा बन्ने भएको छ। एसियाली विकास बैंक (एडीबी)को सहुलयितपूर्ण ५५ अर्ब १७ करोड ६८ लाख ऋण लागतमा सो सडक खण्ड बन्ने भएको हो।
पथलैया-हेटौँडा-नारायणगढ सडक खण्ड ९९.६९ किलोमिटर छ। सो सडक खण्डमा कुल सडक लम्बाईको सबैभन्दा ठूलो हिस्सा ग्रामीण क्षेत्रमा पर्छ। ग्रामीण क्षेत्रमा ५२.३४५ किलो मिटर सडक परेको आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चूडाराज ढकालले बताए।
ग्रामीण क्षेत्रमा बन्ने सडकको चौडाई २३ मिटर हुने छ। यस सडक सुधारले ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। यस्तै, अर्ध-सहरी क्षेत्रमा २३.८४५ किलोमिटर सडक परेको छ। यो क्षेत्रमा ३७.४० मिटर चौडाई सडक बनाइने योजना छ।
सहरी क्षेत्रमा २३.५० किलोमिटर सडक बन्ने छ। सहरी क्षेत्रमा ५० मिटर सडक चौडाई हुने अनुमान छ। यो सडक विस्तारमा ५५ करोड ३४ लाख रुपैयाँ प्रतिकिलोमिटर लागत लाग्ने आयोजनाको अनुमान छ। पथलैया-हेटौँडा-नारायणगढ सडक खण्डको फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गरिने तयारी रहेको ढकालले बताए।
ट्रक व्यवसायीहरूले पथलैया-हेटौँडा-नारायणगढ सडक खण्ड विस्तारको काममा भइरहेको ढिलाइप्रति चर्को गुनासो व्यक्त गरेका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गतको व्यस्त पथलैया-हेटौँडा-नारायणगढ सडक साँघुरो, ट्राफिक जाम र अव्यवस्थित पार्किङले गर्दा यात्रुले सास्ती खेप्दै आएका छन्। हेटौँडा बागमती प्रदेशको राजधानी भए पनि लामो समयदेखि सडक सुविधाको अभावमा यातायात व्यवसायीले सास्ती खेपी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।
विं.सं. २०१२/१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघको जोड छ। ट्रक व्यवसायीहरूले पथलैया-हेटौँडा-नारायणगढ सडक खण्ड विस्तारको काममा भइरहेको ढिलाइप्रति चर्को गुनासो व्यक्त गरेका छन्। अव्यवस्थित पार्किङ, साँघुरो सडक तथा अत्यधिक ट्राफिक जामका कारण आफूहरूले ठूलो समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ।
सडक विस्तारका लागि स्थानीयले सडक विवादलगायत समस्या रहेको छ। सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले हेटौँडा बजार क्षेत्रमा बाटो सीमा खाली गराउने कार्य भइरहेको बताए।
दुई किलोमिटर लामो फ्लाइओभर बन्ने
सोही सडक खण्डमा पर्ने टिकौली जंगल खण्डमा नेपालकै पहिलो आकर्षक फ्लाइओभर बन्ने भएको छ। एडीबीका आयोजना निर्देशक ढकालले लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको बताए।
दुई किलोमिटर लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। उनका अनुसार, फ्लाइओभर ३/३ लेनको बन्नुका साथै दुवैतर्फ १/१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने बताए। बाँकी ४ लेनमा २/२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्ने छन्।
फ्लाइओभरमा ६७ वटा पिलर बन्ने छन्। सो फ्लाइओभर माथिबाट सवारी साधन गुड्ने र मुनिबाट वन्यजन्तु ओहरदोहोर गर्ने ढकालले जानकारी दिए।