काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न भएको छ । चैतमा किस्ता बुझाउनेलाई १० प्रतिशत ब्याजमा सहुलियत दिएको केन्द्रीय बैंकले आगामी असार मसान्तसम्म ब्याजमा सहुलियत दिने जानकारी गराएको हो । यद्यपी ब्याजमा कति सहुलियत दिने भने खुलाइएको छैन ।
राष्ट्र बैंकका ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले ब्याजमा सहुलियत दिन आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन । यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने
व्यवस्था मिलाइने भएको उनले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए ।
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने भएको छ ।
६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने केन्द्रीय बैंकले जानकारी दिएका छन ।
बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने बताइएको छ । कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम,कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको गभर्नर अधिकारीले स्पष्ट पारे ।
संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित लागेको उनले बताए ।
कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि लागू गरिएको घरमै बस्नुपर्ने व्यवस्थाले अर्थतन्त्रमा पारेको प्रभावलाई सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
मुलुकको पर्यटन,उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै यस बैंकबाटसम्बन्धित सबैलाई सहज हुनेगरी केही राहत कार्यक्रमहरू घोषणा गरी कार्यान्वयनमा ल्याई सकिएको छ ।
सामाजिक दूरी कायम गर्न घरमै बस्नुपर्ने भएका कारणऋणीहरूलाई कर्जा भुक्तानीमा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रैमासिक किस्ताहरूको भुक्तानी अवधि तीन महिनाले बढाइ सकेको छ ।
समयमै भुक्तानी गर्ने ऋणीहरूलाई मासिक÷त्रैमासिक ब्याज रकममा १० प्रतिशत छुट दिने व्यवस्था कार्यन्वयनमा आइसकेको छ ।
अनिवार्य नगद मौज्दात तथा बैंक दर कटौती गर्ने, ब्याजदर करिडरका दरहरूमा समायोजन, काउन्टर साइक्लिकल क्यापिटल वफर सम्बन्धी व्यवस्था स्थगन, चैत महिनामा नवीकरणगर्नुपर्ने कर्जाहरू नवीकरण नभएको आधारमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न अनिवार्य
नगरिने, कोभिड–१९ को उपचारका लागि सेवा विस्तार गर्न चाहने स्वास्थ्य सेवा प्रदायकसंस्थाहरूलाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न दिइने जस्ता व्यवस्थाहरू समावेश गरिएका छन् ।
५० अर्बको पुनरकर्जा कोषलाई ६० अर्ब रुपैयाँको बनाउने व्यवस्था गरिएको छ । कर्जाहरूको भुक्तानी अवधि ६० दिनसम्म थप हुने व्यवस्था गरिएको छ ।