जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने ३८ दशमलव ०७ मेगावाटको तिला जलविद्युत बिजुली उत्पादन गर्न करिब सात अर्बभन्दा बढी लाग्ने भएको छ।
तिला गाउँपालिका–१ र ७ कालीकोटको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत् आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिए।
तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ। तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातावरणविद् भट्टको भनाइ छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नाँप जाच २०७८ मा स्वीकृत भएको हो। आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जनजस्ता अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्त रसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए।
उत्पादित विद्युतलाई १३२ केभी सिंकल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेसनमा लगेर जोडिनेछ। विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छाडिनेछ। आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन्।
आयोजना कुल लागत सरकारको सात अर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए। आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० किमि लामो र १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिनेछ। आयोजना निर्माण गर्न कुल ७ दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ। यसमा वन क्षेत्रको जग्गा ४ दशमलव ७७२ हेक्टर र निजी जग्गा २ दशमलव ८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ।
स्थानीयलाई रोजगारीमा विशेष प्राथमिकता दिइनेछ। निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष व्यापार व्यवसाय गर्न सक्नेछन्। यसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए।
आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ। प्रत्यक्ष प्रभावित घरधुरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ। तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले बताएको छ।–रासस