काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन पाँच जना मन्त्रीहरू, सचिवहरू, ठेकेदार कम्पनीसहित चिनियाँ कम्पनीलाई समेत प्रतिवादी बनाएको छ। यसका लागि कूल ५५ जना तथा संस्थालाई माथि ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
आयोगले दायर गरेको मुद्दामा तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी (उनको हकमा श्रीमती राममाया बोगटी), रामकुमार श्रेष्ठ, दीपक अमात्य, भीम आचार्यलगायलाई विपक्षी बनाइएको छ।
यसैगरी, पूर्वसचिवहरू सुमनप्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, मधुकुमार मरासिनी, सुरेश आचार्यलगायतलाई पनि प्रतिवादी बनाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र क्यानका पदाधिकारीसमेत यस मुद्दामा मुछिएका छन्। विघटित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा घोटाला भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियारलाई फाइल पठाएको थियो।
चीनको सहुलियतपूर्ण ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा विमानस्थलको प्रक्रिया सुरु भएको थियो।