काठमाडौं। तामाङ पत्रकार संघको २२औँ स्थापना दिवसको अवसरमा चार जना पत्रकार पुरस्कृत भएका छन्। पत्रकारिता, मातृभाषा संरक्षण, सांस्कृतिक योगदान र महिला प्रतिभालाई प्रोत्साहित गर्ने विधामा उत्कृष्ट योगदान पुर्याएका चार जना व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष नेत्र तामाङले जानकारी दिए।
यस वर्षको दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार अञ्जु डिम्दोङलाई प्रदान गरियो। डिम्दोङ २०६७ सालदेखि पत्रकारितामा सक्रिय छिन्। सिन्धुलीका स्थानीय रेडियोसँगै काठमाडौंमा रेडियो मैत्री एफएम र रातोपाटी अनलाइनजस्ता सञ्चारमाध्यममा काम गरिसकेकी छन्। उनलाई १० हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
संघका संस्थापक रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार सुनिल लामालाई प्रदान गरिएको छ। उनी ‘मेन्दोला फोले’ पोडकास्टका प्रस्तोता हुन् र १५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरिने छ।
यसैगरी, नेपाल टेलिभिजनमा प्रसारण हुने तामाङ भाषाको समाचार ‘तामाङ तामसो’का प्रस्तोता वीरबल तामाङलाई तामाङ मातृभाषा पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय भएको संघकी महासचिव सरस्वती तामाङले बताइन्। उनलाई १० हजार रुपैयाँसहित सम्मानपत्र दिइने छ।
सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने नारी प्रतिभालाई प्रोत्साहन स्वरूप कालिका तामाङ नारी प्रतिभा पुरस्कार शान्ति वाइबा तामाङलाई प्रदान गरिने छ। उनलाई मातृभाषामा प्रकाशित ‘पेङ दोर्जे’ नामक नाट्य पुस्तकका लागि पाँच हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने छ।
पुरस्कृतलाई आइतबार एक कार्यक्रमका बीच उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुरस्कार वितरण गरेका हुन्।
तामाङ पत्रकार संघ २०६१ मंसिर २१ गते स्थापित भएको हो। संघले प्रत्येक वर्ष यही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ।