काठमाडाैं। २०७२ सालको भूकम्पले क्षति पुर्याएको नेपालको संसदीय इतिहासको साक्षीका रुपमा सिंहदरबारको आडमै रहेको ग्यालरी बैठक जीर्ण भवन सवलीकरणको काम समयभित्रै नसकिने भएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का स्म्झौता भएको थियो। विसं २०८२ मंसिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो। आयोजनाको लागत करिब ३९ करोड रहेको छ।
प्रयोगहीन अवस्थामा रहेको सो भवनलाई पुराना र काम नलाग्ने सामान थुपार्ने ठाउँका रुपमा प्रयोग गर्दै आएकोमा २०७९ चैत ९ गतेमा राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ग्यालरी बैठक भवनलाई कला, संस्कृतिसहित इतिहास बोकेका सम्पदाको रुपमा रहेको र यसको संरक्षण गर्न निर्देशन दिएको थियो।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९६५ मा सिंहदरबारको आडैमा निजी ‘थिएटर’ का रुपमा ग्यालरी बैठकको निर्माण गराएका थिए। ‘ऐना’ हरु लगाएर विशेष तरिकाले सजाइएको ग्यालरी बैठकका भित्ताहरुका कारण यसलाई ‘ऐना भवन’का रुपमा समेत चिनिने गरिन्थ्यो। विदेशी पाहुनालाई आफ्नो वैभव र विलासी शैली देखाउने गरी राणाहरूले यो भवन निर्माण गरेका थिए। यस भवनमा विदेशी पाहुनालाई रात्रिभोज दिन र अन्य समयमा नाचगान हेर्न र भोजभतेर गराउन प्रयोग गरिन्थ्यो।
२००७ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि सोही भवनमा सल्लाहकार सभा बस्ने गरेको थियो तत्पश्चात ग्यालरी बैठक नेपालको संसदीय इतिहासको साक्षीका रुपमा लिने गरिन्छ। २०१५ सालको आमचुनावपछि १६ असार २०१६ मा सोही भवनमा पहिलो संसद बैठक बसेको थियो।

२०२० वैशाख १ मा राष्ट्रिय पञ्चायत बैठकको पहिलो अधिवेशन सोही बसेको थियो। त्यसैगरी २०४८ सालको आम चुनावपछि सोही भवनमा संसद बैठक बस्न थाल्यो। २०६३ मा अन्तरिम संसद गठन भएर १५ वैशाख २०६३ मा पहिलो बैठक यसमै बसेको थियो, जसमा तत्कालीन विद्रोही पक्ष माओवादी पनि सहभागी भएका थिए।
२०६४ को संविधानसभा चुनावपछि ६०१ जना सभासद निर्वाचित भएसँगै ठाउँ अभावसँगै वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् भवन सारिएको थियो। जुन भदाै २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गरी खण्डहर बनेको छ र अहिले सिंहदरबारभित्रै नयाँ संघीय संसद् भवन निर्माणको अन्तिम चरणमा रहेको छ।









