काठमाडौं। पछिल्लो समय नेपाली बजारमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन (ईभी)को आयात र बिक्री उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्थापित अटो कम्पनीहरूले नयाँ-नयाँ ईभी मोडल बजारमा ल्याउन थालेपछि उपभोक्ताको आकर्षण पनि तीव्र रूपमा बढ्दै गएको छ। यही बढ्दो मागलाई मध्यनजर गर्दै धेरै कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ ब्रान्ड तथा मोडलका ईभी भित्र्याउने तयारी गरेका छन्।
साउनको अन्तिम सातादेखि भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पोमा दुई पांग्रे सवारीसाधनका १७ ब्रान्ड सहभागी हुँदै छन्। गत वर्ष पहिलो संस्करणमा १९ ब्रान्ड सहभागी भए पनि यस वर्ष सहभागी संख्या दुईले घटेको छ। यसपटक धेरै कम्पनीहरूले नयाँ मोडलका ईभी सार्वजनिक गर्ने तयारी गरेकाले प्रदर्शनी झनै प्रतिस्पर्धात्मक र आकर्षक बन्ने अपेक्षा गरिएको छ।
एक्स्पोमार्फत नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी २५०१ र चेतक सी ३५०३ मोडलको ल्याउने जनाएको छ। कम्पनीले हाल ईभी मोडलको रुपमा चेतक ३५०१ बिक्री गर्दै आएको छ। नयाँ दुई मोडल थपिएसँगै बजाज चेतकको ईभी पोर्टफोलियो विस्तार हुनेछ।
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्नो दोस्रो विद्युतीय स्कुटर टीभीएस अर्बिटरलाई नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनी गर्ने जनाएको छ। कम्पनीले टिभीएस अर्बिटर नेपाली बजारमा भित्र्याइसकेको छ। हाल ईभी मोडलको रुपमा टीभीएस आइक्युब बिक्री गरिरहेको कम्पनीले अर्बिटरको आगमनसँगै मध्यम मूल्य वर्गमा थप विकल्प उपलब्ध हुने जनाएको छ।
भारतीय ईभी ब्रान्ड भिडा पनि नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। बजाज चेतक र टिभिएस अर्बिटर नाइमा मोबिलिटी एक्स्पोमा देख्न सकिन्छ भने भिडा नाडामा देख्न सकिन्छ। सिजीले आधिकारिक बिक्रेताका रूपमा भिडा भी २ स्कुटर लन्च गर्दै छ।
यो भिडा ब्रान्डको नेपालमा आउने पहिलो विद्युतीय मोडल हो। कम्पनीहरूले नयाँ प्रविधि, बढी रेन्ज, स्मार्ट फिचर र प्रतिस्पर्धी मूल्यका मोडलमार्फत ग्राहक आकर्षित गर्ने तयारी गरेका छन्। हालसम्म यी तीन ब्रान्ड यही महिनामा नेपाल आउने छ। अन्य ब्रान्डहरुले पनि नयाँ मोडलका बाइक तथा स्कुटर ल्याउने तयारी गरिरहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनी हुने इलेक्ट्रिक स्कुटर
चेतक सी २५०१
नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आगामी साउन २६ देखि हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बजाज चेतक सी २५०१ सार्वजनिक गर्ने जनाएको छ।
चेतक सी २५०१ यो मोडल तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हो। यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ। यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसको टप स्पीड प्रतिघण्टा ६० किलोमिटर रहेको छ। यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ।
कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ। यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प रहेको छ। यो मोडलको तौल मात्र १०७ किलोग्राम छ। यसमो सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ। चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ।
चेतक सी ३५०३
यो चेतकको प्रिमियम इलेक्ट्रीक स्कुटर हो। यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री दियएको छ। जसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिने कम्पनलिे जनाएको छ। यसको टप स्पीड प्रतिघण्टा ७० किमी रहेको छ। यसमा ३५ लिटरको ठूलो बुट स्पेस, कलर एलसीडी डिस्प्ले, फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत फिचर छन्।
अर्बिटर
नाइमा माबिलिटी एक्स्पो २०२६ मा प्रतिस्पर्धि रुपमा देखिने अर्काे मोडल टिभिएस अर्बिटर हो। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्बिटर नेपाली बजारमा भित्र्याइसकेको छ। कम्पनीले आधिकारिक रुपमा भोली सार्वजनिक गरी नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीको लागि राख्ने जनाएको छ। टिभीएस अर्बिटर दुई भरियन्टमा उपलब्ध छ। अर्बिटर १.८ किलोवाट आवर र ३.१ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ।
टिभीएसको अर्बिटर १.८ किलोवाट आवर ब्याट्रीप्याक भेरियन्टले सिंगल चार्जमा ८६ किलोमिटर र ३.१ किलोवाट आवर भेरियन्टले १५८ किलोमिटरसम्मको आइडीसी रेन्छ प्रदान गर्ने छ। स्कुटरमा दिइएको आइपी ६७ रेटेड ब्याट्रीलाई फुलचार्ज हुन करिब २ घण्टा २० मिनेट र ४ घण्टा १० मिनेट समय लाग्छ।
स्कुटरमा २.५ किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ। यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ। अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट लगायतका फिचरहरू छन्।
साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटरमा पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ।
यही महिना आउँदै भीडा भी २
नयाँ ब्रान्डको रुपमा भारतीय ईभी ब्रान्ड भीडा नेपाल प्रवेश गर्ने भएको छ। नेपालमा सीजी मोटर्सले भित्र्याउने तयारी गरेको भीडा ३ ब्याट्री अप्सनमा उपलब्ध छ। यसमा भेरियन्ट अनुसार २.२ किलोवाट आवर, ३.४४ किलोवाट आबर र ३.९४ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन पाउन सकिन्छ।
तीन भेरियन्टको रेन्ज पनि क्रमशः ९४ किलोमिटर, १४३ किलोमिटर र १६५ किलोमिटर रहेको छ। भिडा २ स्कुटरको बेस भेरियन्टदेखि दुई राइड मोड पाउन सकिन्छ। ७ इन्चको टीएफटी डिस्प्ले, की लेस फंक्शन, एलईडी लाइटिङ, रिजनरेटिभ ब्रेकिङजस्ता फिचरहरू यसका आकर्षण हुन्।