काठमाडौं। नेपाल बिमा प्राधिकरणमा क्रियाशील कर्मचारी युनियनले अध्यक्ष जनकराज शर्मालाई सेवा–सुविधा वृद्धिसहितका विभिन्न माग पूरा गर्न सातदिने अल्टिमेटम दिएका छन्।
कर्मचारी व्यवस्थापन, बिमा क्षेत्र द्रुतगतिमा विस्तार भइरहेका बेला नियमन, निरीक्षण र सुपरीवेक्षण झनै जटिल बनिरहेका बेला आकर्षक सुविधा उपलब्ध गराउन मागसहित उनीहरुले व्यवस्थापनसमक्ष विभिन्न माग अघि सारेका हुन्।
अन्य नियामक निकायसँग प्रतिस्पर्धा गर्न सकिने खालका सेवा–सुविधा तथा संगठन संरचना अभावले दक्ष जनशक्ति आकर्षित गर्न र टिकाउनै कठिन भएको र यसले बिमा बजारको पारदर्शिता, बीमित हित र समग्र क्षेत्रको दिगोपनामा नकारात्मक असर परेको दाबी उनीहरुको छ।
प्राधिकरणमा क्रियाशील दुई ट्रेड युनियन बिमा प्राधिकरण कर्मचारी युनियन र नेपाल बिमा प्राधिकरण कर्मचारी संगठनले श्रम ऐनअनुसार २१ दिनभित्र वार्ताको पहल नआएको भन्दै अब सात दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका हुन्।
यो अवधिभित्र पनि माग सम्बोधन नभए २८ देखि क्रमबद्ध हड्तालमा जाने चेतावनी दिएका छन्। युनियनले नयाँ संगठन संरचना र सेवा–सुविधा लागू गरी त्यसपछि मात्र पदपूर्ति अघि बढाउने, प्राविधिक आवश्यकताअनुसार उपनिर्देशक पद आन्तरिक प्रतिस्पर्धाबाट मात्र पूर्ति गर्ने, कर्मचारी विनियमावलीमा प्राविधिक–प्रशासन समूह तथा प्रदेश सरुवामा भौगोलिक व्यवस्था स्पष्ट पार्न माग गरेका छन्।
त्यसैगरी तालिम, मनोनयन, सरुवा र गुनासो सम्बोधनमा कर्मचारी प्रतिनिधित्व सुनिश्चित गर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि तय गर्ने, प्राधिकरणको उत्तराधिकारी योजना तत्काल लागू गर्ने तथा प्राधिकरणलाई अन्तर्राष्ट्रिय स्तरको प्रयासमार्फत आधुनिक बनाउनेलगायत माग अघि सारिएको छ।
