म्याग्दी। म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ।
अपर म्याग्दी हाइड्राेपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षे अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए।
‘चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ’, उनले भने, ‘२०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौं।’ कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ।
बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई सातामा विद्युतगृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ। २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एन्ड कन्ट्रयाक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो।
धवलागिरि गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ। बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ।
मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनोट भएको छ। रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ एक सय ९६ मिटर रहेको छ। आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ।
ऊर्जा इन्जिनियरीङ एन्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ। विद्युतगृहबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेसन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।
आयोजनाबाट वार्षिक औषत तीन सय १५ दशमलव ०१ गिगावाट घन्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ। भारवाङबाट बाँध निर्माण स्थलसम्म ९ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि ६ करोड २० लाख बजेट विनियोजन गरेको छ। हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए।–रासस