काठमाडौं। सरकारका पूर्वसचिव तथा पुर्वाधार विज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताएका छन्। नेपाल पुर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले रुग्ण ठेक्का सहज अवस्थामा आए पनि जिरोमा पुर्याउन आवश्यक रहेको बताए।
‘२०७५ मंसिरसम्म ११८ अर्बका १८४८ वटा ठेक्का रुग्ण थिए। १०३२ ठेक्काको म्याद नै ग्रुजीएको अवस्था थियो। २३ अर्ब ६० अर्ब पेस्की उठ्न बाँकी थियो। ५ अर्ब ९० करोड कार्य सम्पादन जमानत जोखिममा थियो,’ उनले भने, ‘त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा अध्ययन गरेर ३०–३५ वटा सुझाव दियो। जनशक्ति थप गर्ने, कर्मचारीको क्षमता बृद्धि गर्ने, ठेक्कालाई सहजीकरण गर्ने, अनुगमन गर्ने लगायतका सुझाव दियो। सम्बन्धीत निकायहरुले त्यो सबैले पालना गरे। त्यसकारण १८ सय भन्दा बढी रुग्ण ठेक्का अहिले ४०० सयमा सिमित भएको हो। यो आफैमा धेरै भएपनि सहज अवस्थामा आएका हौं। भयावह स्थितीबाट धेरै नै सहज अवस्थामा आएका हौं। तर, यसलाई जिरोमा पुर्याउन पर्छ।’
पछिल्लो समय कोराना महामारी, भुक्तानीमा भएको ढिलाई, सम्बनित निकायबिचको समन्वय अभाव लगायतका कारण ठेक्का रुग्ण भएको उनले बताए। ‘यसबीच कोरोना महामारी आयो। त्यसपछि दुई तिन वर्ष निर्माण व्यवसायीको भुक्तानी दिन सकिएन। यसका कारण पनि ठेक्का रुग्ण भए,’ उनले भने, ‘अहिले पनि २०७५ कै अभ्यासबाट रुग्ण ठेक्का व्यवस्थापन गर्नुपर्छ। कडाई गर्दै ठेक्का व्यवस्थापनमा अघि बढ्नुपर्छ।’ अपर्याप्त बजेट र भुक्तानीमा भएको ढिलाईका कारण ठेक्का रुग्ण भएको उनले बताए।
कर्मचारीका कारण पनि ५–७ प्रतिशत ठेक्का रुग्ण भएको उनले बताए। सम्पन्न भएको ठेक्कामा समेत कर्मचारीले भुक्तानी नदिने प्रवृत्ति रहेको उनले उल्लेख गरे। यस्ता ठेक्कामा क्षतिपुर्ति दिनुपर्ने उनकाे भनाइ छ।
कतिपय अवस्थामा निर्माण व्यवसायीका कारण पनि ठेक्का रुग्ण भएको उनकाे दाबी छ। यस्तै, उनले ठेक्का रुग्ण हुन नदिन कानुनमा सुधार ल्याएर सक्षम ठेकदारलाई छनोट गर्नुपर्ने बताए। यसैगरी, भेरिएसन र म्याद थपलाई व्यवस्थीत गर्नुपर्नेमा उनले जाेड दिए। ठेक्का तोड्दा बाँकी लागत रकम असुल गर्ने प्रावधान हटाउनुपर्ने उनकाे भनाइ छ। संसारमा कतै नभएको व्यवस्थामा नेपालमा ल्याउनु गलत भएको उनले बताए।