काठमाडौं। भौतिक पुर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताए। त्यस्ता ठेक्कामा भने कुनै कारबाही नगरेको बताउँदै मन्त्री घिसिङले छानविन गरिने बताएका छन्।
नेपाल पुर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन्। त्यस्तालाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने, ‘अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिदै छन्। त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन्। कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन। त्यसमा छानविन गरेर सम्बन्धीत कर्मचारीलाई कारवाही गर्नुपर्छ।’ निर्माण व्यवसायीको कारण २५० हारहारी ठेक्का रुग्ण भएको उनकाे भनाइ छ।
उनले निर्माण व्यवसायी बिना देश विकास सम्भव नभएको उल्लेख गरे। यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिबृृद्धि गर्न आवश्यक रहेको मन्त्री घिसिङकाे भनाइ छ।
‘निर्माण व्यवसायी बिना ठूला काम सम्भवन छैन। निर्माण व्यवसायी बिना देशको विकास सम्भव छैन। राष्ट्रिय होस् या अन्तरराष्ट्रिय होस्,’ उनले भने, ‘तर, निर्माण व्यवसायीको क्षमता अभिबृद्धि गर्न आवश्यक छ। अन्तरराष्ट्रिय स्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ।’
मन्त्री कुलमान घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्नेमा जाेड दिए। त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिबृद्धि हुने उनकाे भनाइ छ।