काठमाडौं। असोज ५ मा ऊर्जामन्त्री कुलमान घिसिङ (पूर्वएमडी)ले विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी दिएका मनोज सिलवाल अन्ततः सर्वोच्च अदालतको सोमबारको आदेशबाट वहिर्गमनमा परेका छन्। असोज ५ मा नेतृत्वको जिम्मेवारी पाएका सिलवाल प्राधिकरणमा ७८ दिन कार्यकारी रहे।
मन्त्री घिसिङले हितेन्द्रदेश शाक्यलाई हटाए पनि सर्वोच्चले फिर्ता ल्याइदिएपछि सिलवालले प्राधिकरण उच्च नेतृत्वलाई भावुक म्यासेज पठाएर आफू बिदा भएको घोषणा गरेका छन्।
उनले म्यासेजमा लेखेका छन्, ‘सर्वोच्च अदालतको निर्णयअनुसार, म अब एनईएको एमडी पदमा रहेको छैन। यो अत्यन्त छोटो कार्यकालमा तपाईंहरूको माया र सहयोग अत्यन्त सराहनीय रह्यो। तपाईंहरू एनईएको भविष्य हुनुहुन्छ। नयाँ एमडी (हितेन्द्रदेव शाक्य)लाई उत्कृष्ट सहयोग प्रदान गर्नुस् र सधैं एनईएको भलाइका लागि काम गर्नुस्।’
सिलवालले व्यक्ति महत्त्वपूर्ण नहुने तर संस्था महत्त्वपूर्ण हुने भन्दै सबै संस्था र मूल्यवान ग्राहकप्रति समर्पित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘यो अत्यन्त छोटो समयमा महत्त्वपूर्ण योगदान दिन नसकेकामा माफी चाहन्छु। तर, मेरो प्रत्येक कार्य र निर्णय इमानदार थियो र एनइएको पक्षमा थियो। तपाईंहरू ६० लाख ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिएका हुनुहुन्छ, तपाईंहरू उज्यालोको आशा हुनुहुन्छ र तपाईंहरू सेवाप्रदायक हुनुहुन्छ। यस सन्दर्भमा म विश्वास गर्छु कि तपाईंहरूको प्रत्येक कार्यले हाम्रा ग्राहकको अनुहारमा मुस्कान ल्याउनेछ,’ उनले भनेका छन्।
सधैं प्राविधिक रूपमा बलियो, आर्थिक रूपमा स्थिर र राम्रोसँग संगठित एनईएको कामना उनले गरेका छन्।
तत्कालीन केपी ओली सरकारबाट २०८१ चैत ११ मा नियुक्त हितेन्द्रदेवलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पद सिर्जना गरेर घिसिङ नियुक्ति दिएका थिए। उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि शाक्यको पक्षमा फैसला भएसँगै मनोज एनइएबाट बाहिरिएका हुन्।