काठमाडौं । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले ल्याएको निर्देशन लत्याउँदा पनि नियामक निकाय मुखदर्शक बनेको आरोप उद्योगी व्यवसायीले लगाएका छन् ।
बैंकहरुले एकपछि अर्को निर्देशलाई लत्याउँदा पनि नियामक निकायले कारबाही नगरेको बरु उनीहरुसँगै मिलेको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगरका उपाध्यक्ष किशोर प्रधानले आरोप लगाएका हुन् ।
केन्द्रीय बैंकले उद्योगी व्यवसायीलाई राहत दिने उद्देश्यले विभिन्न निर्देशन ल्याए पनि बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन गर्न अटेर गर्दा समेत कारबाही नगरेपछि बैंककै निगाहमा केन्द्रीय बैंक रहेको पुष्टि भएको उनको आरोप छ ।
चैत मसान्तमा ब्याज बुझाउने उद्योगीलाई केन्द्रीय बैंकले १० प्रतिशत छुट दिने गरी निर्देशन ल्याएको थियो । त्यसलाई बैंकले कार्यान्वयन गरेका छैनन् । त्यसैगरी, साँवा÷ब्याज वा किस्ता बुझाउने समय असार मसान्तसम्म पुर्याए पनि बैंकले उद्योगीको खाताबाट आफूखुसी पैसा तानेर ब्याज मिलान गर्दा पनि केन्द्रीय बैंकले कुनै हस्तक्षेप गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर तीनका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।
बैंकहरुले केन्द्रीय बैंकलाई आफ्नो निगाहमा राखेर आफूअनुकूल निर्णय गराउँदा पनि राष्ट्र बैंक नेतृत्वले कुनै हस्तक्षेप गर्न नसकेको उद्योगीको आरोप छ ।
तर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगीको आरोपमा सत्यता नभएको बताए । हामीसँग भेट्न आउँदा यस्ता समस्या नराख्ने तर, मिडियामा अनावश्यक टिप्पणी गर्ने गरेको उनले बताए ।
राष्ट्र बैंकले ल्याएको निर्देशन बैंकहरुले माने नमानेको वा पालना गरे नगरेको भन्ने विषयमा हाम्रो सम्बन्धित विभागले अनुगमन र निरीक्षण गरिरहेको बताए । यदि कुनै बैंकले केन्द्रीय बैंकले ल्याएको निर्देशन पालना नगरेको पाइए, त्यस्ता बैंकलाई तत्काल कारबाही गरिने उनले जानकारी दिए ।
राष्ट्र बैंक नेतृत्व पनि बैंकसँग मिलेकाले उद्योगीमाथि बैंकहरु पेलेको उपाध्यक्ष प्रधानले आरोप लगाए । बैंकहरुको नाफा घट्छ कि भन्ने चिन्ता स्वयम् बैंकरलाई भन्दा पनि केन्द्रीय बैंकको नेतृत्वलाई छ,’ उनले केन्द्रीय बैंकको नेतृत्वमागि इंगित गर्दै भने, ‘बैंकरले लिनुपर्ने चिन्ता केन्द्रीय बैंकले लिएकाले यस्तो समस्या आएको हो ।’
बैंकहरुको चरम दादागिरीलाई रोक्न केन्द्रीय बैंकले तत्काल हस्तक्षेप नगरे उद्योगले बैंक तथा केन्द्रीय बैंक विरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको प्रधानले बताए ।