काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ५ महिनामा अधिकांश बैंक तथा वित्तीय संस्थ (लघुवित्तबाहेक)को खुद नाफा घटेको छ। गत वर्षको कात्तिकको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकहरुको खुद नाफा १४.७१ प्रतिशतले घटेर २१ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको हो।
गत वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले कुल २४ अर्ब ९९ करोड खुद नाफा कमाएका थिए। वाणिज्य बैंकहरुको खुद नाफा नै १३.११ प्रतिशतले संकुचित भएको छ। गत वर्षको कात्तिकसम्म कुल २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएका २० वाणिज्य बैंकले चालू वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँ मात्रै अर्जन गरेका हुन्।
उक्त अवधिमा ४ वटा मात्रै वाणिज्य बैंकहरुको नाफा वृद्धि भएको छ। नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंकको १०५.२३ प्रतिशत, सानिमा बैंकको १९.६५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १८.९१ प्रतिशत र एभरेष्ट बैंकको ०.२७ प्रतिशतले खुद नाफा वृद्धि भएको हो।
बाँकी १६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ०.७५ प्रतिशतदेखि १३२.९० प्रतिशतसम्मले घटेको छ। सबैभन्दा बढी कृषि विकास बैंकको र सबैभन्द कम सिद्धार्थ बैंकको खुद नाफा घटेको छ।
चालू वर्षको कात्तिकसम्म परिमाणको आधारमा सबैभन्द बढी खुद नाफा ग्लोबल आइएमई बैंकले २ अर्ब ५१ करोड, दोस्रोमा नबिलले २ अर्ब ४६ करोड, तेस्रोमा प्राइम कमर्सियलले १ अर्ब ५८ करोड र चौथोमा एभरेष्ट बैंकले १ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेका छन्।
यस्तै, विकास बैंकतर्फ भने उक्त अवधिमा सबैभन्द बढी खुद नाफ गरिमा विकास बैंकले ३९ करोड ७७ लाख, मुक्तिनाथ विकास बैंकले ३८ करोड ४२ लाख, शाइन रेसुंगाले ३० करोड २५ लाख र कामना सेवा विकास बैंकले २७ करोड ७७ लख रुपैयाँ खुद नाफा कमाएका छन्।
वित्त कम्पनीतर्फ गुडविल फाइनान्सले ५ करोड २८ लाख, आइसीएफसीले ४ करोड ८ लाख, मञ्जुश्री फाइनान्सले २ करोड ३५ लाख र सेन्ट्रल फाइनान्सले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकमा ९ विकास बैंक र १० वटा फाइनान्सको विवरण समावेश छैन।
