काठमाडौं। कीर्तिपुर रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच रोमाञ्चक भिडन्त हुने निश्चित छ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो भने लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।
दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेल नेतृत्वको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ।
एनपीएल विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।
लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो। सुदूरपश्चिम लिग चरण खेल र साविक उपविजेता भएकाले लुम्बिनीभन्दा बलियो देखिएको छ। लिग चरणका सातमध्ये ६ खेल जितेर पहिलो क्वालिफायर खेल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो।
सुदूरपश्चिम गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। लुम्बिनी यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो। लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो।
जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन्। लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो। गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो। आज तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण हुनेछ। जसले जित हात पार्यो, च्याम्पियन बन्दै इतिहास लेखाउनेछ।
साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने छ। सुदूरपश्चिम र लुम्बिनी उपाधि भिड्न्तका लागि तयार छन्।
एनपीएल विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा मंसिर १ देखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता छ।