काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउन निर्देशन दिएपछि बैंकहरुको नाफामा गम्भीर धक्का पुग्ने भएको छ ।
खासगरी आधारदर (बेसरेट) कम भएका वाणिज्य बैंकलाई नाफामा गम्भीर धक्का पुग्ने देखिएको छ ।सरकारी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकलाई छाडेर निजी क्षेत्रबाट सञ्चालित स्टाण्डर्ड चार्टड बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलाई गम्भीर धक्का पुगेको आंकलन बैङकिङ क्षेत्रमा हुन थालेको छ ।
लकडाउनपछि बन्द भएका उद्योगलाई केन्द्रीय बैंकको राहत, २ प्रतिशत बिन्दुले ब्याज घटाउन बैंकलाई निर्देशन
यी बैंकको बेसरेट सबैभन्दा कम छ । केन्द्रीय बैंकले मङ्गलबार २ प्रतिशत विन्दुले ब्याज घटाउन सर्कुलर ल्याएपछि यी बैंकको नाफामा व्यापक मात्रामा घट्ने देखिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले क्यापिटल नेपाललाई जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार स्टाण्डर्ड चार्टड बैंकको आधारदर ७.५५ प्रतिशत छ । स्टाण्डर्ड चार्टड बैंकले अहिले १२ देखि १२.५० सम्म ब्याज लिइरहेको थियो । त्यसैगरी, नबिल बैंकको आधार दर ७.९४ प्रतिशत छ । यसले पनि १२ प्रतिशत हाराहारीमा कर्जाको ब्याज लिइरहेको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको आधार दर पनि ८.९६ प्रतिशत छ । यसले पनि १२ प्रतिशतकै हाराहारीमा ब्याज लिइरहेको छ । त्यसैगरी, एभरेष्ट बैंकका पनि आधार दर ८.२२ प्रतिशत छ । एभरेष्टले पनि १२ प्रतिशतकै हाराहारीमा ब्याज लिइरहेको थियो ।
मानौं ठूला बैंकको आधारदर सरदर ८ प्रतिशत छ । १२ प्रतिशतमा ऋण दिइरहेको थियो । बैंकहरुले ४ प्रतिशत बढी नाफा कमाइरहेका थिए । केन्द्रीय बैंकको निर्देशनपछि २ प्रतिशत बिन्दूले घटाउनुपर्ने भयो । अब १२ प्रतिशतमा ब्याज लगाइरहेका बैंकले १० प्रतिशतमा झानुपर्ने भयो । त्यो भनेको २ प्रतिशत नाफा घट्ने देखिएको ती सीईओले जानकारी दिए ।
उनका अनुसार ठूला भनिएका बैंकले बेसरेटमा सामान्य चलखेल गर्ने सम्भावना भएपछि धेरै चलखेल गर्न सक्दैनन् । स्रोतका अनुसार शून्य दशमवल २५ प्रतिशतसम्म वेसरेटमा चलखेल गर्न सक्ने सम्भावना हुन्छ । यदि बैंकको बेसरेट ९ प्रतिशत छ भने त्यसलाई सवा ९ प्रतिशतसम्म लैजान सक्ने सम्भावना भएको स्रोतको भनाइ छ ।
बेसरेट कम बढी हुने बैंकका अतिकतम एक प्रतिशत बिन्दूले मात्रै ब्याजदर घट्ने सम्भावना बढेको छ भने बेसरेट कम हुने बैंकको ब्याजदर २ प्रतिशत बिन्दूले नै घट्ने हुँदा उनीहरुको नाफामा ठूलो धक्का लाग्ने ती बैंकरले बताए ।
अहिले ४ ओटा बैंकलाई छाडेर अधिकांश बैंकको बेसरेट ९.३७ देखि ११ प्रतिशतसम्म छ । औसत आधारदर ९.४५ प्रतिशत रहेको छ । यस्तै कर्जाको ब्याजदर औसत ११.८० प्रतिशत छ । केन्द्रीय बैंकले मंगलबार ल्याएको सर्कुलरमा यसरी ब्याजदर गणनाा गर्दा बैंकहरु आधारदर भन्दा कम गर्न बाध्यकारी हुने छैनन् भनेको छ ।
यसैगरी बैंकहरुले साधारण निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले घटाएर साढे ५ प्रतिशत कायम गरेका छन । यसअघि ६.७७ प्रतिशतसम्म थियो । बैंकहरुको आधारदर घट्दै जाँदा साधारणको निक्षेपको ब्याजदर क्रमिक रुपमा बढ्दै गएको छ ।
कोरोना महामारीले असर गरेपछि सामाजिक लागत सबैले व्योहर्ने गरी सहुलियतको घोषणा गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले यो व्यवस्थाले कोभिड प्रभावित उद्योग व्यवसायले राहत पाउने जानकारी दिए । तत्काल नाफा घट्ने भए पनि अवस्था सहज भएपछि बैंकहरुले थप लाभ लिन सक्ने अवस्था रहने उनको भनाई छ ।
नाफामा गम्भीर धक्का
ठूला भनिएका बैंकले धेरै ठूलो नाफा गुमाउँदै छन्, भने बेसरेट बढी भएका बैंकको पनि एक प्रतिशत नाफा घट्ने देखिएको छ । बेसरेट बढी भएका बैंकको एक प्रतिशत बिन्दूले ब्याज घट्छ भने बेसरेट कम भएका बैंकको ब्याज २ प्रतिशत बिन्दूले घट्छ । यसो हुने बित्तिकै बढी बेसरेट भएका बैंकको तुलनामा कम बेसरेट हुने बैंकको नाफा बढी घट्ने देखिएको छ ।