काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) ले पारेको असरको प्रारम्भीक प्रतिवेदन तयार पारेको छ ।कार्यभार सम्हालेका दिन गभर्नर महाप्रसाद अधिकारीले कोभिडबाट भएको क्षतिको अध्ययन थाल्ने निर्णय गरेका थिए । सोही निर्णयका आधारमा राष्ट्र बैंकको अनुसन्धान विभागले प्रारम्भीक प्रतिवदन तयार पारेको हो ।
तयार पारिएको प्रारम्भीक प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले बढी प्रभावित क्षेत्र तोेकेर २ प्रतिशत विन्दसम्म कर्जाको ब्याजदर घटाउन र आश्वस्त भएमा यी क्षेत्रमा १० प्रतिशत थप चालुपुँजी कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन दिएको हो । चैतमा कायम रहेको ब्याजदरमा २ प्रतिशतसम्म घटाउने र चौथो त्रैमाशमा सोहीअनुसार ब्याजको गणना गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस
अध्ययनले पर्यटन, हवाइ, कृषि र साना तथा मझौला उद्योग व्यवसायमा बढी प्रभाव पारेको निश्कर्ष निकालेर सोही आधारमा ब्याजदर घटाएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले कोभिडबाट बढी प्रभावित रेष्टुरेन्ट, होटल, रिसोर्ट, ट्राभल र ट्रेकिङ्ग व्यवसाय बढी प्रभावित पारेको जानकारी दिए ।
यस्तै हवाइ कम्पनी, व्यवसायिक प्रयोजनका सवारीसाधन, साना तथा मझौला उद्योग, निर्यातजन्य उद्योग, मनोरन्जन व्यवसाय, अस्पताल र पोल्ट्री व्यवसायलाई बढी प्रभावित भई सोही आधारमा वर्गिकरण गरेको उनले बताए । यस्तै निर्देशनमा उल्लेख नभए पनि निर्माणधिन जलविद्युत आयोजना पनि प्रभावित वर्गमा परेको उनले सुनाए ।
आयोजनाको पनि ब्याज घट्ने उनले स्पष्टपारे । बढी प्रभावित उद्योग व्यवसायलाई बैंक तथा वित्तीय संस्थाहरु आश्वस्त भएमा १० प्रतिशतसम्म थप चालुपुँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
यस्तै सञ्चालनमा रहेका जलविद्युत आयोजना, मदिरा तथा चुरोट उद्योग, ग्याँस उत्पादन तथा बिक्रीवितरण, सोप तथा केमिकल्स, इन्टरनेट, दुरसञ्चार क्षेत्रको ब्याजदर नघट्ने भएको छ । यी उद्योग व्यवसायले थप १० प्रतिशत चालुपुँजी पनि नपाउने निर्देशनमा उल्लेख छ ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको निर्देशनमा पर्यटन, उत्पादनमुलक उद्योग (जुन हाल बन्द रहेका छन) तिनलाई २ प्रतिशत बिन्दुले ब्याज घटाउन निर्देशन ल्याएको हो ।
पर्यटन, उत्पादन मुलक उद्योग, अटोमोटिभलगायतका क्षेत्र कोभिड १९ का कारण ऋणात्मक हुने सम्भावना छ । चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ ।
कोरोना महामारीले असर गरेपछि सामाजिक लागत सबैले व्योहर्ने गरी सहुलियतको घोषणा गरेको भट्टले बताए । उनले यो व्यवस्थाले कोभिड प्रभावित उद्योग व्यवसायले राहत पाउने जानकारी दिए । अवस्था सहज भएपछि बैंकहरुले थप लाभ लिन सक्ने अवस्था रहने उनको भनाई छ ।