काठमाडौं। भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया जारी छ। बिहान ९ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म करिब आधा सकिएको छ।
८० वटा विद्युतीय मेसिनबाट भइरहेको मतदान राति अबेसम्म जारी हुने निर्वाचन आयोगले जनाएको छ। उत्साहका साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि लामो प्रक्रिया हुँदा बढी समय लागेको हो।
नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ९०४ मत मात्रै खसेको छ।
मतदाताले मतदान गर्न ढिलाइ गरेसँगै राति ८ बजेसम्म समय थप गरिएको छ। समय थप भएसँगै मतदान प्रक्रियामा सहभागी प्रतिनिधिलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले राति ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए। अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ।
त्यसपश्चात मतदान स्थलमा पस्न नपाइने मतदाताहरूलाई जानकारी दिइएको थियो। तर, राति ८ बजेसम्म मतदान नसकिने भएको छ।
यसअघि मंगलबार दिउँसो १ बजे मतदान सुरु हुने भनिए पनि पटक–पटक सारिएको थियो। प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेदेखि मतदान समय तोकिए एक घण्टा ढिला गरी सुरु भएको थियो।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षको दाबेदारीमा रहेका छन्। उनीहरू दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी दिएका थिए। महाधिवेशनमा दुई हजार २२३ मतदाता रहेका छन्।