काठमाडौं। एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंसिर २९ देखि जारी मतदान प्रक्रिया अझै सकिएको छैन। एमाले निर्वाचन आयोगका नयाँ नेतृत्व चयनका लागि बुधबार रातैभरि मतदान भएको छ।
भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान ५ बजेसम्म २२६३ मतदातामध्ये १८०० मत खसेको छ। मतदातालाई बुधबार साँझ टोकन दिइएको थियो।
निर्वाचन समितिले बिहान ५ बजेभित्र मत हाल्न बाँकी रहेको प्रतिनिधिलाई मतदान स्थल प्रवेश गर्न सूचना जारी गरेको छ। बिहान ५ः०० बजेभित्र भृकुटीमण्डपस्थित केन्द्र प्रवेश गरेका प्रतिनिधिले मत हाल्न पाउनेछन्। यद्यपि एमाले निर्वाचन आयोगले कसैलाई नछुटाउने नीति लिएको छ।
एमालेमा विद्युतीय उपकरणमार्फत मतदान भइरहेको छ। ८० वटा उपकरण प्रयोग गरी बुधबार बिहान ९ः१२ बजेदेखि मतदान भइरहे पनि प्रतिनिधिले मत हाल्न ढिला गरेका कारण समय लम्बिएको हो। प्राविधिक लक्ष्मण रिमालका अनुसार भोट हाल्न औषत ४० मिनेट हाराहारी लागेको छ।
एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित मैदानमा छन्। ३०१ केन्द्रीय सदस्य, आयोग अध्यक्षसहित ३५० पदका लागि ६२२ जना उम्मेदवार मैदानमा छन्।
एमालेका अनुसार बिहान ७ बजेसम्म मतदान गर्न लाग्ने र सकिनासाथ तुरुन्तै गणना प्रारम्भ हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ। मतदानमा दुई हजार २६३ मतदाता सहभागी छन् । हाल मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएका छन्।