काठमाडौं। भदौ २९ देखि सुरु भएको एमालेको ११औं महाधिवेशन भोटिङ मेसिनले ढिलाइ गर्दा बिहीबार सवा ७ बजे मात्रै मतदान सकियो। महाधिवेशनअन्तर्गत ओलीराज चलाउने मनसायमा रहेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह देखिने गरी दुई कित्ता विभक्त भएर मत मागे।
तर, यसअघिको चितवन महाधिवेशनजस्तो तामझाम भक्तपुर र भृकुटीमण्डपले देखाएन। यसबाट एमालेमा ओली शासन क्रमशः ओरालो लागेको संकेत गरेको छ। भलै, ओलीले नै किन नजितून्’।
यद्यपि भोटिङ मेसिनमा कैद भएको ओली र पोखरेलको भाग्य संभवतः केही घन्टापछि खुल्नेछ, एमाले आगामी ५ वर्षका लागि कसले भनेर। निर्वाचन समितिका अनुसार कुल दुई हजार दुई सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २२२७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि अनुपस्थित रहे। यिनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका ६ जना र ३० जना अन्य प्रतिनिधि छन्। नेता योगेश भट्टराईले अन्तिम मतदाताको रूपमा मतदान गरेसँगै भृकुटीमण्डपमा जारी मतदान कार्य औपचारिक रूपमा सकिएको थियो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीबाट मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी अनुपस्थित भए। त्यस्तै निर्वाचन आयोगकै समिर नेपाल र रचना राजोपाध्यायले मतदान गरेनन्।
एमालेमा अझ अनुशासन आयोगकै पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेलले मतदान गरेनन्। लेखा आयोगका अशोक केसीसँगै धनश्याम कोइराला र संजीव रोकायालेसमेत मत हालेनन्।
महाधिवेशन प्रतिनिधितर्फ कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिराहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल (गुल्मी), मीना पोख्रेल, गोमा नेपाली, पल्लवराज भट्ट, तिलक रिजाल र तेजकुमार विकले मत नहालेका हुन् ।
यस पटकको निर्वाचनमा अध्यक्ष ओलीको टिमबाट महासचिवमा शंकर पोखरेल पुनः दोहोरिने प्रयासमा छन् भने पोखरेलको टिमबाट सुरेन्द्र पाण्डेले महासचिव पदमा उम्मेदवारी दिएका छन्।
निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन (प्रयोग गरिएको हुनाले मतगणना निकै छिटो हुने र सम्भवतः आजै दिउँसोसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
विद्युतीय मेसिनमा प्रतिनिधिको मत सुरक्षित भइसकेकाले अबको केही समयमा सुरु हुने मतगणनाले एमालेको आगामी कार्यकालको बागडोर कसले सम्हाल्नेछ भन्ने फैसला गर्नेछ। ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी चयनका लागि भएको यस निर्वाचनको नतिजालाई लिएर देशभरका नेता तथा कार्यकर्ताले प्रतीक्षा गरिरहेका छन्।
२०४८ को बहुमतको सरकार ढाल्नमा कांग्रेसमा तत्कालीन नेतात्रय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई लौहपुरुष गणेशमानको फेरो समाएर ३६ गुट नेतृत्व गर्नेको भूमिका रहेझैं एमालेमा पनि ओली पक्षकै मुकुन्द न्यौपाने, प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रदीपराज प्याकुरेल, वसन्त नेम्बाङलगायतले संस्थापनलाई नरुचाएको देखिएको छ। एमालेमा पनि कांग्रेसझैं ३६ समूह जन्मिएको त होइन भन्ने प्रश्न यो महाधिवेशनमा देखिएको छ।