काठमाडौं। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ गरेसँगै आक्रमक अभिव्यक्ति दिएका छन्। पार्टीको ११औँ महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेका उनले आफूबिना एमाले बनाउने चाहना ध्वस्त भएको बताए।
आफूलाई पार्टीको नेतृत्वबाट हटाउन भइरहेको षड्यन्त्रविरुद्ध बोल्दै उनले भने, ‘मेरोबारे अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक, त्रास, अनेक प्रकारका जालझेल, षड्यन्त्र, तिकडम सबै कामहहरू गरिरहेका छन्। तपाईंहरूले मलाई ती सबै भ्रमहरू र षड्यन्त्रहरू र कूचाहनालाई जवाफ दिनु भएको छ। केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीको चेष्टा थियो। त्यो ध्वस्त पार्नुभएको छ।’
रातभर जागा बसेर आफूलाई फेरि पार्टी अध्यक्षमा जिताएको भन्दै उनले मतदानहरूलाई धन्यवाद दिन भ्याए। उनले अध्यक्षमा आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तर पराजित गरेका थिए।
यस क्रममा उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमाथि पनि खनिएका थिए। उनले जसरी भए पनि अहिलेको सरकार ढाल्नुपर्ने बताए। उनले आफूमाथि अहिलेको सरकारले षड्यन्त्र गरेको भन्दै छोएर देखाउन चेतावानी दिएका थिए।
‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ। म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढाल्नुपर्छ,’ उनले भने।
यस्तै, उनले अहिलेको सरकारले उद्योगी-व्यवसायीको सुरक्षा गर्न नसक्ने भन्दै एमालेले सुरक्षा दिने दाबी गरे यसका लागि पार्टीका नेता कार्यकर्तालाई टोल-टोलमा सुरक्षा टोली बनाउन निर्देशन दिएका थिए।
‘भदौ २४ गते धोका भयो। फेरि पनि धोका पाउन सक्छौँ। आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ। शान्ति सुरक्षा आफैँले गर्नुपर्छ,’ उनले भने, ‘एक हप्ताभित्र सुरक्षा टिम बनाउनू, जेनजीको नाममा धाकधम्की आउन सक्छ।’