काठमाडौं। नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन गरिएको चिनियाँ भाषा तालिम सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंस्थिति चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौं चिनियाँ भाषासम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको हो।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस तालिमअन्तर्गत वार्षिक रूपमा ५० भन्दा बढी नेपाली पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिँदै आएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा राष्ट्रपति सि जिनपिङसँग भएको भेटपछि हस्ताक्षर गरिएको द्विपक्षीय सहायता सम्झौतापछि यो कार्यक्रम सुरु गरिएको थियो।
यसले नेपाल–चीन पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ। चिनियाँ भाषा तालिम समापन समारोहमा चिनियाँ दूतावासका उपप्रमुख (डिसिएम) झोउ पान, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए। सो अवसरमा सातौं ब्याचका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
उक्त अवसरमा तालिम पूरा गरेका सहभागीले चिनियाँ भाषामा आफ्ना सीप प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम तथा मार्शल आर्ट प्रदर्शनसमेत गरेका थिए। सहभागीको आत्मविश्वासपूर्ण प्रस्तुति र भाषिक दक्षताले कार्यक्रमको प्रभावकारिता प्रष्ट पारेको कार्यक्रममा उपस्थिति वक्ताले उल्लेख गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका उपप्रमुख झोउ पानले नेपाली विद्यार्थीको चिनियाँ भाषा तथा संस्कृतिप्रतिको उत्साह र समर्पणप्रति खुसी व्यक्त गरे। उनले चिनियाँ भाषामा दक्षता हासिल गर्नु विश्वकै सबैभन्दा ठूलो पर्यटन बजारसम्म पहुँचको ढोका खोल्ने माध्यम हुने उल्लेख गरे।
चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रलाई फाइदा पुर्याउने उनको विश्वास छ। उनले भने, ‘चीनको १५औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। त्यसको सकारात्मक प्रभाव नेपालसम्म पनि विस्तार हुनेछ।’
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश शाहले अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रमा चिनियाँ भाषाको बढ्दो महत्त्वबारे प्रकाश पार्दै नेपाली पर्यटन क्षेत्रका लागि यसले दीर्घकालीन लाभ पुर्याउने धारणा व्यक्त गरे। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ पर्यटकका लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस प्रकारको भाषा तालिम अत्यन्त उपयोगी रहेको बताए।
चिनियाँ भाषामा दक्ष जनशक्ति तयार हुनु सरकारको चिनियाँ पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार हुने उनको भनाइ थियो।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले सातौँ ब्याचका सहभागीलाई बधाइ दिँदै भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। चिनियाँ भाषामा दक्ष मानव संसाधन विकासले चिनियाँ पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे।
बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यो कार्यक्रम बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा सञ्चालन हुँदै आएको निरन्तर क्षमता अभिवृद्धि पहलको हिस्सा भएको बताए। उनका अनुसार यस कार्यक्रमको उद्देश्य पर्यटन क्षेत्र मात्र नभई व्यापार, आर्थिक गतिविधि तथा अन्य क्षेत्रका लागि समेत उपयोगी हुने गुणस्तरीय चिनियाँ भाषा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै दुई देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको सहभागीको भनाइ छ।
यस प्रकारका पहलहरूले नेपाल र चीनबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बोर्डको छ।