काठमाडौं। फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको कारण स्थगन भएको निर्माण व्यवसायीहरुको चुनाव चैतको दोस्रो साता हुँदैछ। नयाँ नेतृत्वचयन समेत हुने २६ औं साधारण सभाका लागि अहिले अध्यक्ष प्रत्यासीहरुले प्यानलनै बनाएर चुनावी प्रचार थालेका छन्।
निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ(एफक्यान)को निर्वाचनका लागि सल्हाकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे(एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। अध्यक्षका उम्मेदवार लामाले आफ्नो प्यानलको प्रारम्भिक खाका यसअघि नै प्रस्तुत गरिसकेका छन्।
अध्यक्षमा उनी स्वयं, वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी रहने छ। यस्तै, पाण्डेको पक्षबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम मैदानमा रहने चर्चा छ।
अहिले सम्भावित उम्मेदवार र १३ औं अधिवेशनको मिति औपचारिक घोषणा भएको छैन। तर महासंघले चैत दोस्रो साताभित्र अधिवेशन गर्ने जनाएको छ। महासंघ सचिवालयका अनुसार अधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुनेछ। देशको वर्तमान राजनीतिक अवस्था र निर्माण व्यवसायमाथि चौतर्फी प्रहार भइरहेका बेला महासंघ एकताबद्ध भएर अगाडि बढ्नु पर्ने महासंघका महासचिव रोशन दाहाल बताउँछन्। सकेसम्म सहमतिबाटै नयाँ कार्यसमिति चयन प्रयास हुने उनको भनाइ छन्। ‘सहमतिमा पुग्यौं भने राम्रो, नत्र प्रतिस्पर्धाबाटै चुनाव हुनेछ,’ उनले भने।
अधिवेशनमा दुई हजार बढीको जमघट हुने महासंघले जनाएको छ। यस पटकको साधारणसभामा देशभरबाट करिब १ हजार २ सय जना मतदाता सहभागी हुनेछन्। अधिवेशन अवसर पारेर निर्माण सामग्रीको प्रदर्शनी तथा स्टलसमेत राखिनेछन्। महासंघमा हालका अध्यक्ष रवि सिंहको दोस्रो कार्यकालपछि नयाँ नेतृत्व चुनिन लागेको हो।
महासंघका अनुसार प्रत्येक प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना साधारणसभा प्रतिनिधि पठाउनुपर्नेछ।
साधारणसभा तथा निर्वाचनका लागि महासंघको विधानको दफा ९ को उपदफा (१२) बमोजिम सबै प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्यलगायत वस्तुगत संघहरुलाई प्रतिनिधि पठाउन यसअघि नै आग्रह गरि सकिएको छ। महासंघका अनुसार प्रत्येक प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना साधारणसभा प्रतिनिधि पठाउनुपर्नेछ।
जिल्ला संघको हकमा ५० सम्म सदस्य संख्या भएको जिल्ला संघले ३ जना साधारण सभा प्रतिनिधि र सोभन्दा माथि छानविन समितिले यकिन गरे बमोजिमको संख्याको आधारमा हरेक ५० सदस्य बराबर थप १ जना साधारणसभा प्रतिनिधि चयन गरी १ जनालाई अनिवार्य मुख्य प्रतिनिधि हुने व्यवस्था छ। पाँच वा सोभन्दा बढी साधारण सभा प्रतिनिधि पठाउने जिल्ला संघले प्रतिनिधि हुन योग्यता पुगेका महिलामध्ये कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य हुनु पर्ने व्यवस्था छ।
एसोसिएट सदस्यहरूबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ जना साधारणसभा प्रतिनिधि र प्रत्येक वस्तुगत संघबाट १ (एक) जना साधारणसभा प्रतिनिधि हुने प्रवधान छ। निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको दस वर्ष पूरा भएको, महासंघ वा महासंघअन्तर्गतका सदस्य संघको सदस्यता लिएको कम्तीमा दस आर्थिक वर्ष पूरा भएको फर्म÷कम्पनीमा अविछिन्न पाँच वर्ष पूरा गरेको प्राकृतिक व्यक्तिलाई मात्र साधारणसभा प्रतिनिधि चयन गरी पठाउनु पर्ने व्यवस्था छ।
एफक्यानले नयाँ नेतृत्वको चुनावका माघ १५ देखि १७ गतेसम्म हुने भनिएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका भएसँगै अधिवेशन स्थगन गरिएको थियो।