काठमाडौं। गण्डकी प्रदेशमा तथ्यमा आधारित नीति निर्माण प्रक्रियालाई संस्थागत गर्न र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबीच समझदारी भएको छ। पुस ४ गते पोखरामा आयोजित एक विशेष कार्यक्रमका बीच ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप’ कार्यक्रम सञ्चालन तथा अन्य विविध सहकार्यका लागि दुई संस्थाबीच समझदारीपत्र मा हस्ताक्षर भएको हो।
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले निर्दिष्ट गरेको दीर्घकालीन सोच, प्राथमिकता र नीतिगत लक्ष्य कार्यान्वयन गर्न उक्त समझदारी अघि बढाइएको हो। समझदारीअनुसार आयोग र दायित्वबीच नीति अनुसन्धान, शासकीय क्षमता अभिवृद्धि, नवप्रवर्तन, ज्ञान आदान/प्रदान तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा दीर्घकालीन साझेदारी गरिनेछ।
फेलोशिप कार्यक्रममार्फत युवालाई प्रत्यक्ष रूपमा नीति निर्माण, कार्यान्वयन र मूल्यांकन प्रक्रियामा सहभागी गराई प्रदेश सरकारको प्रणालीलाई सुदृढ गर्ने लक्ष्य राखिएको छ। समझदारीपत्रमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका तर्फबाट प्रदेश सचिव ध्रुव गिरी र दायित्वका तर्फबाट अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरे। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा भएको सो कार्यक्रममा आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा र दायित्वका सल्लाहकार केवलप्रसाद भण्डारी साक्षी रहेका थिए।
समझदारी बमोजिम आयोगले फेलोशिप कार्यक्रमको सञ्चालन गर्नेछ भने दायित्वले सो कार्यलाई प्रभावकारी र परिणाममुखी बनाउन प्राविधिक सहजीकरण गर्ने जिम्मेवारी पाएको छ। कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले फेलोशिप कार्यक्रमले नयाँ पुस्ताको दक्षता र ऊर्जालाई नीति निर्माण प्रक्रियामा जोड्ने बताए।
उनले यस कार्यक्रममार्फत युवाले सरकार सञ्चालनबारे नजिकबाट बुझ्ने अवसर पाउने र यसले सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन ठोस आधार तयार गर्ने विश्वास व्यक्त गरे।