काठमाडौं। हालै सम्पन्न महाधिवेशनबाट एमाले नेतृत्वमा पुगेका केपी शर्मा ओलीलाई अध्यक्षमा पराजित ईश्वर पोखरेलले कसैलाई काखा, कसैलाई पाखा गरिए परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्। नेता पोखरेलले विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुन नदिन पार्टीभित्र सबैलाई समान व्यवहार गरिनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेका हुन्।
हरेक तहका नेता÷कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्ने उनको भनाइ छ। कसैलाई काखा कसैलाई पाखा नगरियोस् भन्ने आशा र अपेक्षा उनीहरूले गरेका हुने पोखरेलको भनाइ छ। नेतृत्वबाट समान र सम्मानजनक व्यवहार नभए त्यसले अप्रिय र नोक्सानदायी परिणाम निकाल्न सक्ने पोखरेलको चेतावनी छ।
‘समूह/समूह बनेपछि र समूहकै हिसाबले प्रतिस्पर्धाको प्रक्रियामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्बन्धित विषयमा केन्द्रित रहेर विषयहरू उठाइएका थिए। ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए। अवधारणा पत्रका रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्दसत्रमा समेत प्रस्तुत गरिएकै हुन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थात्, लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि! नेतृत्वबाट सबैले आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन्। नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। त्यस्तो हुन नसक्दा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र!?’
उनले महाधिवेशनपछि गरिएको आफ्नो भेलाबाट तरंगित नहुन पनि आग्रह गरेका छन्। महाधिवेशनमा उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहेका बीचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर केही नेताहरू तरंगित बनेकोप्रति ध्यानाकर्षण भएको पोखरेलले बताएका छन्। अध्यक्ष ओली र अर्का नेता प्रदीप ज्ञवालीले केही दिन पोखरेल पक्षको भेलाप्रति कडा टिप्पणी गरेका थिए।
‘विगतमा पटक–पटक पार्टीभित्रको बहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिबारे हामी जानकार नै छौं। त्यसले सृजना गरेको त्रासबाट अहिले पनि केही हदसम्म त्रसित छौं र पीडित पनि रह्यौं’, पोखरेलले लेखेका छन्, ‘तर अहिले विगतको त्यही त्रास वा ‘भूत’बाट तर्सिरहनु कति उचित हुन्छ? एउटा कुरा–विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन, हुन दिइने छैन ।’
उनले सही कुरा बुझ्न र भ्रममा परेर तरंगित नबन्न पार्टी नेतृत्वलाई सुझाएका छन्। पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम नहुने स्पष्ट पारेका छन्।