काठमाडौं। इजरायल-अमेरिका र इरानबीच युद्धले मध्यपूर्वको आकाशमा आगो सल्काएको छ। त्यो आगोको ताप अहिले हजारौँ किलोमिटर टाढा काठमाडौंसम्म पनि पुगेको छ। खाडी मुलुकहरूको हवाई क्षेत्र अस्थायी रुपमा बन्द भएपछि नेपालबाट ती देशतर्फ उड्ने उडानहरू ठप्प भएका छन् र यसले हजाराै जीवन र जीविका अलमलमा परेको छ।
मध्यपूर्वमा युद्धको विस्फोट हुनुअघि नै महिनौँअगावै टिकट काटेर यात्राको तयारी गरेका नेपाली यात्रुहरू अहिले एयरलाइन्स कार्यालयका ढोका ढक्ढक्याउँदै छन्। काठमाडौं उपत्यकामा रहेका कतार एयरवेज, एयर अरेबियालगायत विभिन्न एयरलाइन्सका कार्यालयमा दैनिक सयौँ यात्रु आफ्नो टिकट रिसेडुल गर्न, उडानको अद्यावधिक जानकारी लिन र पैसा फिर्ताको उपाय बुझ्न धाइरहेका छन्।
इजरायल-इरान तनाव चरमोत्कर्षमा पुगेपछि अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नतासँगै मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरे। कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमानलगायत देशहरूको आकाश अहिले प्रायः बन्द अवस्थामा छ। यी देशहरू नेपाली कामदारको प्रमुख गन्तव्य हुन् र यिनै देशका एयरलाइन्सहरू नेपालको अन्तर्राष्ट्रिय हवाई यातायातको मेरुदण्ड हुन्। त्यसैले यो संकटको सोझो मार नेपाली यात्रु र श्रमिकहरूमाथि परेको छ।
झापाका सजन पौडेलले पाँच महिनाअघि नै कतार एयरवेजमार्फत मार्च १३ को उडानका लागि टिकट काटिसकेका थिए। उडान रद्द भएपछि एयरलाइन्सबाट कुनै सूचना नआएको उनले बताए। "फ्लाइट क्यान्सिल भयो भने एउटा निश्चित समय दिएर बोलाएको भए दुई दिनदेखि यहाँ धाउनुपर्ने थिएन," उनले भने। उनको गुनासोमा आक्रोशभन्दा थकान बढी देखिन्थ्यो।
उस्तै अवस्थामा छन्- झापाकै अर्का युवक विपिन अधिकारी। उनको उडान नजिकिँदै आउँदासमेत एयरलाइन्सबाट कुनै सन्देश आएको छैन। रिसेडुलका लागि कार्यालयमा आएर टोकन लिनुपर्ने र त्यो टोकन पनि सीमित संख्यामा मात्र दिइने हुँदा उनी तीन दिनदेखि लाइनमा बस्न बाध्य छन्। "एयरलाइन्सले समय तोकेर खबर गरेको भए हाम्रो पनि झन्झट हुने थिएन, कार्यालयमा पनि यति भीड हुने थिएन," उनले भने।
काठमाडौं पेप्सीकोलाका नवीन पाठकले युरोपस्थित फ्राङ्कफर्ट जान एक महिनाअघि कतार एयरवेजको टिकट काटेका थिए। उनको उडान रद्द भएपछि एयरलाइन्सको एपमा टिकट रद्दको सूचना देखियो। तर, अनलाइनबाटै रिसेडुल हुन्छ कि भनी सोध्दा कार्यालय आउन भनिएको उनले बताए। "दोहा नजाने भए पनि अन्य देशबाट फ्राङ्कफर्ट उडान भइरहेका छन्। वैकल्पिक मार्गको जानकारी दिन एयरलाइन्सले पहल गर्नुपर्ने थियो," उनले भने।
काठमाडौं सीतापाइलाकी मेनुका श्रेष्ठ रोजगारीका लागि संयुक्त अरब इमिरेट्स जाने तयारीमा थिइन्। एक महिनाअघि काटेको एयर अरेबियाको टिकट रद्द भएपछि उनी रिसेडुलका लागि कार्यालय धाइन्। १५ दिनपछिको उडानमा मिलाएको उनले बताइन्।
"रोजगारीका लागि जानुपर्ने छ, तर कहिले जान पाइन्छ भन्ने थाहा छैन," उनले भनिन्। पौडेल, अधिकारी, पाठक र श्रेष्ठ यी चार जना सयौँको प्रतिनिधि मात्र हुन्। यस्ता हजारौँ यात्रु अहिले हरेक दिन एयरलाइन्स कार्यालयका गल्लीमा घन्टौँ पर्खिन बाध्य छन्।
कतार एयरवेजले कतारको हवाई क्षेत्र अस्थायी रुपमा बन्द भएका कारण नियमित उडान प्रभावित भएको स्वीकार गरेको छ। कतार नागरिक उड्डयन प्राधिकरणबाट सीमित उडान मार्ग प्रयोग गर्ने अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई सहयोग गर्न केही उडान सञ्चालन गर्ने जानकारी एयरलाइन्सले दिएको छ। तथापि, यी उडानहरू नियमित व्यावसायिक सेवाको पुनःसञ्चालन नभई अस्थायी व्यवस्था मात्र भएको एयरलाइन्सले स्पष्ट पारेको छ।
हवाई क्षेत्र पूर्णतः सुरक्षित भएपछि मात्र नियमित उडान सञ्चालन हुने एयरलाइन्सको भनाइ छ। एयरलाइन्सले यात्रुहरूलाई पोइन्ट-टु-पोइन्ट सीधा उडानको व्यवस्था गरेको जनाउँदै टिकट नभइकन विमानस्थल नआउन अनुरोध गरेको छ। यात्रुहरूलाई उडान अद्यावधिक जानकारी, टिकट पुनर्तालिका र अन्य सहायताका लागि एयरलाइन्सको वेबसाइट, एप वा ट्राभल एजेन्टमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।
नेपालबाट खाडी मुलुकतर्फ वार्षिक लाखौँ यात्रु उड्छन्। तीमध्ये अधिकांश रोजगारीका सिलसिलामा जाने श्रमिक छन्। कतार एयरवेज मात्रै नेपालमा दैनिक तीन उडान सञ्चालन गर्छ। यसमाथि एयर अरेबिया, फ्लाई दुबई, गल्फ एयरलगायत एयरलाइन्सका उडान पनि अहिले अनिश्चित अवस्थामा छन्।
मध्यपूर्वमा युद्ध विराम कहिले हुन्छ? र खाडीको आकाश कहिले खुल्छ? भन्ने कसैलाई थाहा छैन। तर, यो अनिश्चितताको भार नेपालीसहित विश्वका अधिकांश यात्रु र श्रमिकहरूले बोकिरहेका छन्। एयरलाइन्सको कार्यालयका ढोकाअगाडि लाइनमा उभिएर, घन्टौँ पर्खेर र आफ्नो यात्राको सपना कहिले पूरा हुन्छ भनी अधुरो आशामा बसेका छन्।