काठमाडौं। सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र शाह बालेनबीचको वार्तामा वैकल्पिक शक्ति निर्माणको चर्चा भएपछि राजनीतिक रुपमा तरंग निम्तिएको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आफूसहित १४ हजार कैदीबन्दीलाई जेलब्रेक गराएको आरोप लागेका रवि र सरकारका मुख्य प्रशासनिक अड्डा सिंहदरबार, न्यायालयलगायत संरचनामा आगो लाग्दा दमकल नपठाएर विवादित बनेका मेयर बालेनबीचको वार्ता कांग्रेस र एमालेको वैकल्कि शक्ति निर्माण गरी फागुन २१ को डुंगा पार लगाउन केन्द्रित रहेको बुझिएको छ।
पुस ४ मा नख्खु कारागारबाट रिहा भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका रविले आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग भेट गरिसकेका भने आइतबार संक्षिप्त र सोमबार मध्यरातसम्म मेयर बालेनसँग करिब पाँच घन्टा ‘वान–टु–वान’ वार्ता गरेका छन्।

रास्वपा नेता असीम शाहको निवासमा सोमबार साँझ ६ बजेदेखि सुरु भएको वार्ता राती साढे १ बजेसम्म चलेको थियो। वार्तामा रविसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेनका सल्लाहकार कुमार बेन पनि उपस्थित थिए।
करिब ६ घण्टा चलेको बैठकमध्ये झन्डै पाँच घन्टा रवि र बालेनबीच एक्लाएक्लै संवाद भएको थियो। सो अवधिमा अन्य सहभागीहरू छुट्टै बसेका थिए। सुरुमा रवि र बालेनबीच व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ।
केही दिनअघि मात्र बाबु गुमाएका बालेन र करिब २ सय ६० दिन कारागार बसाईपछि बाहिर आएका रविबीच भावनात्मक संवाद भएको बताइन्छ। त्यसपछि देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको लामिछाने निकट नेताहरुले बताएका छन्।
भेटवार्तामा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचन मात्र नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको बुझिएको छ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले सबैको आशा र अपेक्षाअनुसार देश निर्माणका लागि मिलेर अघि बढ्नुपर्ने भावनाका साथ वार्ता भएको जानकारी दिए। उनले सामाजिक सञ्जालमार्फत कथाको सुखद सुरुआत भएको पनि उल्लेख गरेका छन्।
वार्ता सकिएपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए। कारागारबाट मुक्त भएपछि लामिछानेले जेनजी आन्दोलनमा घाइते भएका र शहीद परिवारसँग पनि भेटघाट गरेका थिए। यस कदमलाई उनले युवा आन्दोलनसँग जोड्दै आफ्नो राजनीतिक आधार मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ।
फागुन २१ को चुनाव हुने÷नहुने शंका उब्जिएका बेला बालेन र रवि दुवैले चुनाव जसरी पनि हुनुपर्ने र पुराना दलले उठाउँदै आएको संसद् पुनःस्थापनाको विषय कुनै हालत नस्वीकारिने बताएका छन्।
यद्यपि, जेनजी विप्लवबाट पदच्युत भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र बूढानीलकण्ठ निवासमा कुटाइ खाएर स्वेदश तथा विदेश उपचारपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका शेरबहादुर देउवाबीच सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाका लागि दायर गरिएको रिटमाथि न्यायालयलाई दबाब दिने गरी गतिविधि अगाडि बढाउने सहमति भएको देखिएको छ। यसै सन्दर्भमा ओलीले लगातार देउवा दम्पती भेटिरहेका छन् भने बहुमत सांसदको हस्ताक्षरसहित न्यायालयलाई बुझाउने सहमति भएको छ।