यतिबेला एनआईसी एसिया बैंक यस्तो मोडमा उभिएको छ, जहाँ ‘साइज’भन्दा ‘साख’ महत्वपूर्ण बन्न पुगेको छ। एक समय आक्रामक विस्तार, तीव्र मार्केटिङ र ‘नम्बर वान’ बन्ने होडले चिनिएको यो बैंक पछिल्ला वर्षमा भने नियामकीय कडाइ, आर्थिक सुस्तता र आन्तरिक चुनौतीको दबाबमा आयो। यही संक्रमणकालमा बैंकको कमान्ड सम्हाल्न आइपुगेका छन्, सुजित शाक्य। यो केवल नयाँ सीईओको नियुक्ति होइन, एनआईसी एसियाको रणनीतिक आत्मसमीक्षाको सुरुआत हो पनि।
झन्डै २५ वर्षको बैंकिङ अनुभव, ९ वटा वित्तीय संस्थामा काम गरेको पृष्ठभूमि र यही संस्थाबाट करिअर सुरु गरेको भावनात्मक सम्बन्धसहित शाक्यको पुनरागमनलाई केवल सीईओ नियुक्ति मात्र नभई रणनीतिक ‘रि–सेट’ का रूपमा हेरिएको छ।
‘घर फिर्ती’ र अनुभवको पुँजी
शाक्यका लागि एनआईसी एसिया साधारण कार्यस्थल होइन। तत्कालीन बैंक अफ एसियाबाट सुरु भएको उनको बैंकिङ यात्राको एउटा महत्वपूर्ण आधार यही संस्था हो। बीचमा लक्ष्मी, सिभिल, जनता, ग्लोबल आइएमई र नबिल बैंकजस्ता ठूला संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य आठ वर्षपछि पुनः यही संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा फर्किएका छन् ।
‘आठ वर्षपछि यो संस्थामा भित्रिँदा मलाई घर फर्किएजस्तो महसुस भएको छ’, शाक्य भन्छन्, ‘यहाँ आउनुको मुख्य उद्देश्य भनेको संस्थालाई केही ‘गिभ ब्याक’ गर्नु हो।’
उनको यो भावनात्मक सम्बन्ध र परिपक्व नेतृत्व अनुभवले अहिले चुनौतीको घेरामा रहेको बैंकलाई सुरक्षित अवतरण गराउने अपेक्षा गरिएको छ। उनको यो अनुभवले बैंकलाई अहिलेको जटिल परिस्थितिबाट बाहिर निकाल्न बलियो आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
आठ वर्षको अन्तरालमा उनी नबिल बैंकजस्तो स्थापित संस्थामा उच्च व्यवस्थापकीय अनुभव सँगालेर पुनः आफ्नै एनआइसी एसिया फर्किएका छन्। यो बैंकको जगमा उनको पनि पसिना मिसिएको छ। आठ वर्षको अन्तरालमा नबिलजस्तो स्थापित र परम्परागत रूपमा बलियो बैंकमा उच्च पदस्थ अनुभव सँगालेर फर्कँदा उनीसँग एउटा परिपक्वता र बजारको गहिरो बुझाइ छ।

तर, यसपटक उनी एउटा सामान्य बैंकरका रूपमा मात्र होइन, चुनौतीको घेरामा रहेको बैंकलाई ‘सेफ ल्यान्डिङ’ गराउने र नयाँ उचाइ दिने मुख्य जिम्मेवारीसहित फर्किएका हुन्। एनआईसी एसियामा शाक्यले कार्यभार सम्हालेको एक महिना मात्र भएको छ। यो छोटो अवधिमा उनले बैंकको हिजो र आजको यथास्थिति अध्ययन गरिसकेका छन् र संस्थालाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट मार्गचित्र तयार पारेका छन्।
शाक्यले यो ‘कमब्याक’लाई संस्थाप्रतिको भावनात्मक ऋण तिर्ने अवसरका रूपमा लिएका छन्। एउटा बैंकर जब आफ्नो करियरको सुरुआत गरेको संस्थामा नेतृत्व लिएर फर्कन्छ, ऊसँग केवल व्यापारिक लक्ष्य मात्र हुँदैन, संस्थाको साख जोगाउने एउटा जिम्मेवारी बोध पनि हुन्छ।
शाक्यको पुनरागमन केवल एउटा सीईओको नियुक्ति मात्र होइन, यो एनआईसी एसियाले आफ्नो विगतको छवि बदल्न र भविष्यको सुरक्षित मार्ग पहिल्याउन चालेको रणनीतिक कदम हो। एक महिने कार्यकाल र ‘फाइल टू फाइल’ अध्ययनपछि शाक्यले जुन मार्गचित्र कोरेका छन्, त्यसले बैंकलाई अब ‘नम्बर वान’को संख्यात्मक दबाबबाट मुक्त गरी आगामी दिनमा ‘सस्टेनेबल’ र ‘रेस्पेक्टेड’ संस्था बनाउने संकेत गर्छ।
एग्रेसिभ ग्रोथबाट ‘कन्ट्रोल्ड एग्रेसन’तर्फको यात्रा
विगतमा एनआईसी एसियाको ठूलो आलोचना ‘ग्रोथ एट एनी कस्ट’ (जसरी पनि वृद्धि) भन्ने मान्यतामा थियो। यसले बैंकलाई साइजमा त ठूलो बनायो, तर आन्तरिक प्रणाली र जोखिम व्यवस्थापनमा केही छिद्र छाड्यो। शाक्यले अब यो शैलीलाई पूर्ण रूपमा परिवर्तन गर्ने संकेत दिएका छन्। उनले ‘कन्ट्रोल्ड एग्रेसन’को नयाँ शब्दावली प्रयोग गरेका छन्, जसको अर्थ हो–आक्रामक त हुने, तर कहाँ हुने र कहाँ नहुने भन्ने कुराको स्पष्ट छनोट गर्ने।
‘हामी आक्रामक त हुन्छौं, तर कुन ठाउँमा र कसरी हुने भन्नेमा विशेष ध्यान हुनेछ,’ उनी भन्छन्, ‘हामी नम्बर वानको होडबाजीमा मात्रै छैनौं, बजारमा सम्मानित र मर्यादित बैंक बन्न चाहन्छौं।’ नियामक निकाय, ग्राहक र निक्षेपकर्ताको विश्वास जित्नु नै बैंकको वास्तविक सफलता हुने उनको धारणा छ।
बीचमा लक्ष्मी, सिभिल, जनता, ग्लोबल आइएमई र नबिल बैंकजस्ता ठूला संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य आठ वर्षपछि पुनः यही संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा फर्किएका छन्।
नियामक राष्ट्र बैंकका नीतिसँग सामन्जस्य कायम गर्दै साना व्यवसायलाई सहयोग गर्ने र देशको अर्थतन्त्रमा योगदान पु¥याउने गरी एनआईसी एसियालाई अघि बढाउने संकल्प शाक्यले गरेका छन्। ‘निक्षेपकर्ताको पैसाको सुरक्षा नै बैंकको पहिलो प्राथमिकता हो। हामी निक्षेपकर्ताको पैसाको ट्रस्टी हौं भन्ने मान्यतालाई कडाइका साथ पालना गरिनेछ’, उनले भने।
छोटो अवधिको नाफाभन्दा पनि ‘लङ टर्म सस्टेनेबिलिटी’ (दिगोपन) शाक्यको मूल प्राथमिकता हो। अब बैंकले केवल नम्बरमा मात्रै ध्यान नदिएर गुणस्तरीय व्यवसायमा जोड दिनेछ। उनको रणनीति अब ‘कन्ट्रोल्ड एग्रेसन’मा आधारित हुनेछ। यसको अर्थ बैंक सुस्त हुने होइन, तर अबको वृद्धि सन्तुलित र जोखिममुक्त हुनेछ। शाक्यले बैंकको साख र जनताको विश्वासलाई पुनः स्थापित गर्न ‘आउटसाइड–इन’ दृष्टिकोण अपनाउने बताएका छन्, जहाँ ग्राहकको सन्तुष्टि र व्यवहारिक पक्षलाई प्राथमिकता दिइनेछ।
अब बैंकले जथाभावी ऋण लगानी गरेर ब्यालेन्स सिट फुलाउने छैन। बरु, जहाँ पुँजी कम खर्च हुन्छ (रिस्क वेटेज अर्थात् जोखिम भारित औषत) र जहाँ प्रतिफल सुरक्षित छ, त्यहाँ मात्र बैंकले आफ्नो शक्ति खर्च गर्नेछ। यो ‘सिलेक्टिभ ग्रोथ’को नीतिले बैंकलाई भविष्यमा आउन सक्ने सम्भावित जोखिमबाट बचाउने आधार तयार गर्छ।
पोर्टफोलियो सन्तुलनः रिटेलबाट कर्पोरेटतर्फ ‘सिफ्ट’
एनआईसी एसियाको पहिचान लामो समयदेखि ‘रिटेल बैंक’को रूपमा रह्यो। बैंकको ९५ प्रतिशतभन्दा बढी पोर्टफोलियो रिटेल र साना व्यवसायमा केन्द्रित थियो। कोभिड ९ पछि साना व्यवसायी सबैभन्दा बढी मारमा परे, जसले गर्दा बैंकको खराब कर्जा अनुपातमा चाप देखियो। तर, शाक्यले अब यो रणनीतिलाई परिमार्जन गर्ने योजना बनाएका छन्।
‘हामी ट्रेडिङ इकोनोमीमा छौं र कमर्सियल बैंक भएपछि कर्पोरेट एवं पूर्वाधार क्षेत्रमा लगानी नगर्नु सम्भव छैन,’ शाक्य स्पष्ट पार्छन्। अबको दुई वर्षभित्र बैंकको पोर्टफोलियोलाई ७० प्रतिशत रिटेल र ३० प्रतिशत कर्पोरेट तथा पूर्वाधार क्षेत्रमा पु¥याउने उनको लक्ष्य छ। यसका लागि जलविद्युत् र पर्यटन क्षेत्र बैंकको प्राथमिकतामा पर्नेछन्।

सरकारको प्राथमिकता र नेपालको तुलनात्मक लाभ भएका यी क्षेत्रमा लगानी बढाएर पोर्टफोलियोलाई सन्तुलित बनाउने शाक्यको रणनीति छ। उनले यसलाई सन्तुलनमा ल्याउन आगामी दुई वर्षभित्र पोर्टफोलियोलाई ‘फ्लिप’ गर्ने योजना अगाडि सारेका छन्। हाल ५ प्रतिशतभन्दा कम रहेको कर्पोरेट र पूर्वाधार क्षेत्रको लगानीलाई ३० प्रतिशत पु¥याउने उनको लक्ष्य छ। यो ‘सिफ्ट’ले बैंकको आम्दानीलाई विविधीकरण मात्र गर्दैन, बरु ठूला र स्थिर व्यवसायसँगको साझेदारीले बैंकको पोर्टफोलियोमा एक प्रकारको स्थायित्व पनि ल्याउनेछ।
जोखिम व्यवस्थापनको नयाँ मानकः सेन्ट्रलाइजेसन र क्यासफलो
शाक्यले नेतृत्व सम्हाल्नेबित्तिकै चालेको एउटा महत्वपूर्ण ‘ट्याक्टिकल’ कदम भनेको ऋण स्वीकृत गर्ने अधिकारको केन्द्रीकरण (सेन्ट्ररलाइजेसन) हो। विगतमा शाखा प्रबन्धकलाई दिइएको ऋण स्वीकृत गर्ने अधिकारले व्यापार त बढायो, तर गुणस्तरमा सम्झौता भयो। अब शाखा प्रबन्धकसँग व्यापारको ‘टार्गेट’ त हुनेछ, तर ऋण स्वीकृत गर्ने निर्णय भने केन्द्रका स्वतन्त्र अधिकारीले गर्नेछन्।
एनआईसी एसियामा शाक्यले कार्यभार सम्हालेको एक महिना मात्र भएको छ। यो छोटो अवधिमा उनले बैंकको हिजो र आजको यथास्थिति अध्ययन गरिसकेका छन् र संस्थालाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट मार्गचित्र तयार पारेका छन्।
शाक्यले शाखा प्रबन्धक (ब्रान्च म्यानेजर)बाट ऋण स्वीकृत गर्ने अधिकार फिर्ता लिएर केन्द्रमा निहित गरेका छन्। यसले ‘टार्गेट’ पूरा गर्ने दबाबमा हुन सक्ने गलत ऋण लगानीलाई रोक्नेछ। शाखा प्रबन्धकको ऋण स्वीकृत गर्ने अधिकारलाई केन्द्रिकृत गरिएको छ, ताकि टार्गेट पूरा गर्ने नाममा गुणस्तरहीन ऋण नजाओस्।
‘सेन्ट्रलाइज्ड क्रेडिट अथोरिटीले कन्फ्ल्टिस् अफ इन्ट्रेस घटाउँछ। अबको लगानी केवल धितो हेरेर मात्र हुने छैन, बरु ऋणीको व्यवसायको नगद प्रवाह (क्यासफलो) र बजारको वास्तविक मागलाई आधार बनाइनेछ’, शाक्य भन्छन्,’ ‘यो ‘डबल चेक’ गर्ने प्रणालीले बैंकलाई भविष्यमा खराब कर्जाको थुप्रो लाग्नबाट जोगाउने बलियो कबचको काम गर्नेछ।’
पुँजी व्यवस्थापन र रणनीतिक उत्पादन
बैंकको पुँजी कोष (क्यापिटल एडुकेसी)को कसिलो अवस्थालाई शाक्यले अवसरका रूपमा लिएका छन्। उनले पुँजी कम खर्च हुने ‘गोल्ड लोन’जस्ता उत्पादनमा विशेष ध्यान दिएका छन्। ८० अर्बको बजार हिस्सा भएको सुन कर्जामा एनआईसीको उपस्थिति शून्य थियो, जसलाई अब आक्रामक रूपमा अगाडि बढाइँदै छ। यसले पुँजीमा कम चाप पारेर पनि राम्रो आम्दानी दिने उनको विश्वास छ। प्रिफरेन्स सेयर र आवश्यक परे राइट सेयरमार्फत पुँजी कोष मजबुत बनाउने योजनामा प्रवद्र्धकको पनि साथ रहेको उनले बताए।
त्यस्तै, फी–बेस्ड इनकम (लकर, कार्ड, क्यूआर)मार्फत ऋण लगानी नगरीकन पनि राजस्व बढाउने रणनीति उनले अख्तियार गरेका छन्। ऋण लगानीमा मात्र भर नपरी बैंकलाई दिगो बनाउन शाक्यले फी–बेस्ड इनकम’मा फोकस गरेका छन्। ४० लाख ग्राहक आधार भएको बैंकका लागि लकर फी, ट्रान्जेक्सन बैंकिङ, डेबिट÷क्रेडिट कार्ड युजेज र रेमिट्यान्स आम्दानीका ठूला स्रोत हुन्। उनले क्युआर मोनिटाइजेसन र फरेन कार्ड हिटबाट हुने आम्दानी बढाउन विशेष ध्यान दिइने सुनाए। यसले बैंकको नाफामा मात्र सुधार ल्याउँदैन, बरु संस्थालाई बजारमा पूर्ण सेवाप्रदायकका रूपमा स्थापित गर्नेछ।
मानव संसाधन र संस्थागत संस्कृतिमा सुधार
कुनै पनि बैंक केवल सफ्टवेयर र भवनले चल्दैन। त्यहाँ काम गर्ने कर्मचारीको मनोबलले चल्छ। एनआईसी एसियाका ३२ सय बढी कर्मचारी अहिले एक प्रकारको ‘लो मोरल’बाट गुज्रिरहेको तथ्य शाक्यले महसुस गरेका छन्। विगतमा एनआईसी एसियाको आन्तरिक कार्यशैली र कर्मचारीप्रतिको व्यवहारलाई लिएर बजारमा नकारात्मक टिप्पणी हुने गर्थे। शाक्यले यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

‘मेरा ३२ सय कर्मचारी खुसी र उत्प्रेरित भएनन् भने म एक्लैले केही गर्न सक्दिनँ,’ उनले भने। विगतको कठोर कार्यशैली, अनावश्यक सरुवा–बढुवाको त्रास हटाउने र अत्यधिक दबाबको संस्कृतिलाई बदल्न उनले ‘ह्युमन फेस’ (मानवीय चेहरा) सहितको नेतृत्व दिने संकल्प गरेका छन्।
कर्मचारीको मनोबल बढाएर उत्प्रेरित नगराई, वृत्ति विकासमा ध्यान नदिई संस्था सुधार हुँदैन भन्ने उनको स्पष्ट मान्यता छ। कर्मचारीको व्यवहारमा आउने सुधारले नै अन्ततः ग्राहकको धारणा बदल्नेछ। जब कर्मचारीले आफूलाई सुरक्षित र सम्मानित महसुस गर्छन्, उनीहरूले ग्राहकलाई दिने सेवामा पनि स्वतः निखार आउँछ। यो सांस्कृतिक रुपान्तरण नै शाक्य कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुन सक्छ।
डिजिटल युगमा भौतिक उपस्थितिको पुनरवलोकन
विगतमा शाखा सञ्जालको विस्तारमा एनआईसी एसियाले रेकर्ड नै कायम गरेको थियो। तर, शाक्यले वर्तमान डिजिटल परिदृश्यलाई दृष्टिगत गर्दै ‘शाखा समायोजन’को नीतिलाई आत्मसात् गरेका छन्। तथ्यांकअनुसार पहिले दैनिक ४०० सम्म कारोबार हुने शाखामा अहिले १५० सम्म मात्र पुग्ने गरेको छ। कोभिडपछि बैंक आउने ग्राहक संख्या ६० देखि ७० प्रतिशतले घटेको तथ्यलाई स्वीकार्दै अब संख्याभन्दा गुणस्तरमा ध्यान दिने योजनामा शाक्य छन्।
शाखालाई मर्ज गरेर ठूलो बनाउँदा जोखिम व्यवस्थापनमा सहज हुने, दक्ष कर्मचारी परिचालन गर्न सकिने र ‘फ्रड म्यानेजमेन्ट’मा बलियो पकड रहने शाक्यको बुझाइ छ। ‘डिजिटल बैंकिङमा ग्राहक अभ्यस्त भइसकेका छन्, त्यसैले हामीले पनि सोहीअनुसार आफ्नो संरचना बदल्नुपर्छ,’ उनी भन्छन्।
यसले बैंकलाई साइजमा त ठूलो बनायो, तर आन्तरिक प्रणाली र जोखिम व्यवस्थापनमा केही छिद्र छाड्यो। शाक्यले अब यो शैलीलाई पूर्ण रूपमा परिवर्तन गर्ने संकेत दिएका छन्।
राष्ट्र बैंकको नीतिअनुसार शाखा समायोजन हुँदा बैंक खर्च मात्र घट्दैन, बरु साना शाखा गाभ्दा अनुभवी र परिपक्व जनशक्ति एकै ठाउँमा केन्द्रित भई सेवाको गुणस्तर र जोखिम व्यवस्थापन अझ सुदृढ हुने शाक्यको तर्क छ। नजिकै रहेका दुई–तीनवटा शाखालाई गाभेर एउटा बलियो र सुविधासम्पन्न बनाउँदा एकातिर सञ्चालन खर्च घट्छ भने अर्कोतिर अनुभवी जनशक्तिलाई एकै ठाउँ राखेर सेवाको गुणस्तर बढाउन सकिन्छ। यो कदमले बैंकलाई डिजिटल बैंकिङतर्फ अझ बढी केन्द्रित हुन र भौतिक पूर्वाधारमा हुने अनावश्यक खर्च कटौती गर्न मद्दत पुग्नेछ।
बजार हिस्साको वर्तमान र भविष्य
एनआईसी एसियाले विगत पाँच वर्षमा बजारमा आफ्नो हिस्सा जसरी बढायो, त्यो बैंकिङ इतिहासमा अध्ययनको विषय हो। कुल निक्षेप र कर्जा लगानीमा एनआईसी एसियाले निजी क्षेत्रका अन्य बैंकहरूलाई पछि पार्दै आफूलाई अग्रपंक्तिमा उभ्यायो। हाल बैंकको करिब ३५० अर्बमाथिको निक्षेप र २७० अर्ब हाराहारी कर्जा लगानी छ, जसले समग्र बैंकिङ क्षेत्रको करिब ५ देखि ६ प्रतिशत बजार हिस्सा ओगट्छ।

तर, सीईओ शाक्यले आगामी चुनौतीमा यो हिस्सा ‘बचाइराख्नु’ मात्र होइन, यसलाई ‘गुणस्तरीय’ बनाउनुलाई पनि लिएका छन्। ‘हामीसँग ४० लाख ग्राहक छन्, जसमा २०–२२ लाख सक्रिय छन्। यो हाम्रो ठूलो शक्ति हो’, उनी भन्छन्।’ शाक्यले विशाल मार्केट सेयरलाई ‘लो–कस्ट’ निक्षेप र ‘हाई–इल्डिङ’ तर सुरक्षित कर्जातर्फ मोडल्ने रणनीति लिएका छन्। विशेषगरी गोल्ड लोनजस्ता कम जोखिमयुक्त क्षेत्रमा हालसम्म बैंकको उपस्थिति नहुनुलाई उनले ठूलो अवसरका रूपमा लिएका छन्, जसले बैंकको बजार हिस्सालाई झनै सन्तुलित बनाउनेछ।
खराब कर्जा व्यवस्थापन र रिकभरी
आर्थिक मन्दीका कारण अहिले समग्र बैंकिङ क्षेत्रले खराब कर्जा (एनपीएल)को समस्या झेलिरहेको छ। एनआईसी एशियामा पनि साना व्यवसायीको कर्जा भुक्तानीमा समस्या देखिएको छ। तर, शाक्य यसमा खासै चिन्तित देखिँदैनन्। उनको तर्क छ, ‘हाम्रो बैंकको कर्जा धेरैजसो धितोमा आधारित छ। डिफल्ट हुने सम्भावना केही बढी देखिए पनि त्यसपछिको वास्तविक नोक्सानी निकै न्यून छ।’ कर्जा असुलीलाई प्राथमिकतामा राख्दै नयाँ व्यवसाय गर्दा क्यासफलोमा आधारित र बजारको सही विश्लेषण गरेर मात्र अघि बढिने उनी बताउँछन्।
शाक्यको पहिलो प्राथमिकता ‘रिकभरी’ नै हो। उनी ऋणीलाई दुई भागमा बाँडेर हेर्नुपर्ने बताउँछन्, ‘एउटा विलफुल डिफल्टर (नियतवश पैसा नतिर्ने) र अर्को सिचुयसनल डिफल्टर (परिस्थितिका कारण तिर्न नसक्ने) छन्। अहिले सिचुयसनल डिफल्टर बढेका छन्।’ एनआईसी एसियाका लागि एउटा सकारात्मक पक्ष के भने अधिकांश कर्जा धितोमा आधारित र साना आकारका छन्।
शाक्यले बैंकको साख र जनताको विश्वासलाई पुनः स्थापित गर्न ‘आउटसाइड–इन’ दृष्टिकोण अपनाउने बताएका छन्, जहाँ ग्राहकको सन्तुष्टि र व्यवहारिक पक्षलाई प्राथमिकता दिइनेछ।
‘हाम्रो प्रोब्याबिलिटी अफ डिफल्ट उच्च देखिए पनि लस गिभन डिफल्ट न्यून छ,’ शाक्यले स्पष्ट पारे। अर्थात्, ऋण नउठ्ने जोखिम भए पनि धितो बलियो भएकाले बैंकले ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था छैन।
अहिले परिस्थितिका कारण समस्यामा परेका एसएमई व्यवसायी धेरै छन्। यस्ता व्यवसायीलाई बैंकले समय दिएर र सहयोग गरेर मात्रै रिकभरी सम्भव हुने उनको ठम्याइ छ। एनआईसी एसियाको कर्जा अधिकांश धितोले खामेकाले अन्य ठूला बैंकको तुलनामा जोखिम कम रहेको दाबी उनी गर्छन्। उनले आगामी दुई वर्षमा पुराना ऋणीको रिकभरी गर्ने र करिब २ सय अर्बको नयाँ, गुणस्तरीय पोर्टफोलियो निर्माण लक्ष्य राखेका छन्।
नियामकसँगको सम्बन्ध र भविष्यको मार्गचित्र
राष्ट्र बैंकसँगको सम्बन्धमा शाक्य निकै सकारात्मक छन्। राष्ट्र बैंकका नीतिलाई अक्षरशः पालना गर्दै बैंकलाई पारदर्शी र उत्तरदायी बनाउने उनको प्रतिबद्धता छ। विशेषगरी एसएमई क्षेत्रमा परेको दबाबलाई कम गर्न राष्ट्र बैंकले प्रोभिजनिङ र अन्य नीतिमा देखाएको लचकतालाई उनले स्वागत गरेका छन्।
उनको कार्यकालको मुख्य लक्ष्य भनेको आगामी दुई वर्षभित्र एनआईसी एसियालाई ‘टप टेन’ बैंकको सूचीमा फर्काउने मात्र होइन, बजारमा ‘रेस्पेक्टेड’ संस्थाको छवि बनाउनु हो।
पहिलो कार्यकाल अग्निपरीक्षा
सुजित शाक्यको आगमनले एनआईसी एसियामा नयाँ युगको सुरुआत भएको संकेत गर्छ। एग्रेसिभ मार्केटिङबाट ‘मच्योर एन्ड सस्टेनेबल’ बैंकिङतर्फको यो यात्रा चुनौतीपूर्ण भए पनि शाक्यको अनुभव र स्पष्ट भिजनले यसलाई सम्भव देखाउँछ। आगामी ४ वर्षभित्र अर्थात् आफ्नो कार्यकालभित्र एनआइसी एसियालाई टप ५ भित्रको सम्मानित र सुरक्षित बैंकका रूपमा उभ्याउनु नै उनको मुख्य मिसन हो।
शाक्यले बैंकलाई ‘रिस्टोर’ गर्न दुई वर्षको समयसीमा राखेका छन्। यो दुई वर्षमा उनी केवल खराब ऋण उठाउन मात्र केन्द्रित हुने छैनन्, बरु बैंकको पोर्टफोलियोलाई नयाँ आकार दिन, डिजिटल प्लेटफर्मलाई मोनिटाइज गर्न र बजारमा बैंकको ‘गुमेको साख’ फर्काउन क्रियाशील हुनेछन्।
उनको यो यात्रा सजिलो भने छैन। अर्थतन्त्रको सुस्तता र उच्च ब्याजदरको चुनौती अझै छ। तर, उनीसँग रहेको लामो अनुभव, नियामक (राष्ट्र बैंक) सँगको सकारात्मक संवाद र बैंकको जगलाई नजिकबाट चिन्ने क्षमताले एनआइसी एशिया अब एक परिपक्व, सन्तुलित र विश्वसनीय बैंकका रूपमा पुनर्जन्म लिने आशा गर्न सकिन्छ। शाक्यको नेतृत्वमा एनआइसी एसिया अब ‘नम्बर वान’को संख्यात्मक दौडबाट बाहिरिएर ‘नम्बर वान क्वालिटी’को बैंक बन्ने दिशामा हिँडेको देखिन्छ।