काठमाडौं। बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज को आयोजनामा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी तथा प्रख्यात मेमोरी एथ्लेट कृष्ण पाण्डेय ले माघ ६ गते गिनिज वर्ल्ड रेकर्डको नयाँ प्रयास गर्ने भएका छन्। उक्त प्रयास काठमाडौं मोडेल सेकेन्डरी स्कूल (केएमएसएस) बागबजारमा सम्पन्न हुनेछ।
“Fastest Time to Spell 50 Words Backwards” शीर्षकमा हुने यो प्रयास गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड र प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिने आयोजकले जनाएका छन्। कार्यक्रम एमआईटी कलेजको आयोजनामा KMSS को सहकार्यमा हुँदैछ भने Best Western Plus ले Hospitality Partner का रूपमा साथ दिनेछ।
एमआईटी का सह–संस्थापक आर. के. दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित, ध्यानभंगरहित र पारदर्शी वातावरणमा हुनेछ। कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटो तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिनेछ र सम्पूर्ण प्रमाण सामग्री कार्यक्रमपछि गिनिज वर्ल्ड रेकर्ड्समा प्रमाणीकरणका लागि पेश गरिनेछ।
आयोजकहरूले यो पहलले उत्कृष्टता, अनुशासन र नेपाली प्रतिभाको विश्वव्यापी पहिचानप्रतिको प्रतिबद्धता उजागर गर्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले आईटी तथा व्यवस्थापनका विश्वस्तरीय कार्यक्रम प्रदान गर्दै अनुभवात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ। यस्ता अन्तर्राष्ट्रिय स्तरका पहलमार्फत विद्यार्थीमा उपलब्धि, विश्वव्यापी पहुँच र नेतृत्व क्षमताको संस्कृति विकास गर्ने लक्ष्य लिइएको कलेजको भनाइ छ।
रेकर्ड प्रयासबारे कृष्ण पाण्डेयले न्यूयोर्कमा हासिल गरेको गिनिज रेकर्डपछि नेपालमै पुनः प्रयास गर्न पाउनु गर्वको विषय भएको बताए। उनका अनुसार यो प्रयास केवल अर्को रेकर्ड थप्ने होइन, नेपाली प्रतिभाको क्षमता विश्वमञ्चमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्ने उद्देश्यसहित गरिएको हो।
कार्यक्रमको सफल, पारदर्शी र विश्वसनीय कार्यान्वयनका लागि सबै सरोकारवालाबीच औपचारिक कार्यक्रम सम्झौता सम्पन्न भइसकेको छ। माघ ६ गते आधिकारिक रेकर्ड प्रयाससँगै सीमित औपचारिक कार्यक्रम, मिडिया अन्तर्क्रिया र सहकार्य संस्थाहरूको सम्मानसमेत गरिने जनाइएको छ। विस्तृत समयतालिका तथा कार्यक्रमपछिका गतिविधिबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।