काठमाडौं। कांग्रेस विधानअनुसार पार्टीलाई नचलाएपछि विवादमा तानिएका सभापति शेरबहादुर देउवा एक्लिने संकेत देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार पुस २७–२८ मा काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन मिति तोकेपछि त्यसलाई अवैध करार गरेको कांग्रेस संस्थापन पक्षलाई देउवा निकट केन्द्रीय सदस्यले पनि साथ नदिने देखिएको हो।
देउवालाई साथ दिँदै आएका ३० केन्द्रीय सदस्यले पार्टीलाई एकताबद्ध बनाउन सार्वजनिक अपिलसमेत गरेका छन्। उनीहरूले विशेष महाधिवेशनकर्ताको लिखित मागलाई सम्बोधनका लागि ध्यानाकर्षण गराएको बताएका छन्। पार्टीलाई एकताबद्ध गराउन लागि विशेष महाधिवेशनकर्ताको माग सम्मान गर्न आग्रह गरिएको संस्थापन निकट केन्द्रीय सदस्य नानु बाँस्तोलाले जानकारी दिइन्।
साढे ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको दस्तखतलाई वैधानिकता दिनुको साटो फागुन २१ लाई वहाना बनाएर वैशाखसम्म सभापति देउवा कार्यसमितिको कार्यकाल थपिएपछि कांग्रेसभित्र रडाको मच्चिएको हो।
कांग्रेसभित्रको यो झगडामा पछिल्लो समय वरिष्ठ नेता डा शेखर कोइरालाले मध्यस्थताको भूमिका खेल्दै बिहीबार मीनेन्द्र रिजाललाई लिएर महाराजगञ्ज निवासमा सभापति देउवासँग वार्ता गर्न गएका थिए। उक्त वार्तामा पार्टीलाई एकढिक्का बनाउन शेखरले गरेको आग्रहलाई देउवाले अस्वीकारेको बताइन्छ।
महामन्त्रीद्वयको आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र समानान्तर वक्तव्यबाजी भइरहेका छन्। देउवा निकट जिल्ला सभापतिले विशेष महाधिवेशनलाई अवैध भन्दै भाग नलिन आग्रह गरेका छन् भने महामन्त्री एवं शेखर निकट जिल्ला सभापतिले विशेष महाधिवेशनमा भाग लिएर कांग्रेसलाई पुस्तान्तरणमा सघाउन आग्रह गरेका छन्।
पुस २७ र २८ मा हुने विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ। विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समिति संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए।
विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मीलगायत रहेका छन्।

कांग्रेसमा संस्थापन पक्षले विशेष महाधिवेशनलाई व्यक्तिगत रुपमा बोलाइएको भन्दै नेता÷कार्यकर्तालाई भाग नलिन पत्र सार्वजनिक गरिसकेको छ। निर्वाचन आयोगमा समेत कांग्रेस विवाद पुगेको छ।
संस्थापन पक्षले विशेष महाधिवेशन अस्वीकार्ने र महामन्त्री पक्षधरले जसरी पनि गर्ने अड्डी कसेपछि देउवा निकट केन्द्रीय सदस्यले छुट्टै भेला गरेर पार्टीलाई एकताबद्ध बनाउन सभापतिलाई दबाब दिएको बुझिएको छ।
यही विषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट ३० जना केन्द्रीय सदस्यले बेग्लै भेला गरेका छन्। चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका देउवा निकट ३० केन्द्रीय सदस्यले भेला गरेर अपिल जारी गरेका हुन्।
अपिल जारी गर्नेमा राजेन्द्र केसी, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, अब्दुल सत्तार रहेका छन्।
यस्तै, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायतले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै विज्ञप्ति निकालेका छन्।
उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन र विश्वप्रकाशलाई भेटेर ध्यानाकर्षण गराएका थिए। उनीहरूले संवाद र सहमतिबाट विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह पनि गरेका छन्। महामन्त्रीद्वयको आह्वानमा पुस २७–२८ मा विशेष महाधिवेशन हुँदै छ।
पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेला संस्थापन पक्षीय सदस्यको भेला भइरहेको छ। बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा संस्थापन पक्षीय केन्द्रीय सदस्यलाई बोलाइएको हो। संस्थापन पक्षीय पदाधिकारी र सदस्यले सभापति देउवालाई भेटेका थिए। त्यसपछि आफ्नो समूहका सदस्यको भेला बोलाइएको बुझिएको छ।