काठमाडौं।खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर विवाद भइरहेका बेला आयोजक भनिएको एनआरएनए अमेरिकाले निम्तो नगरिएको प्रस्ट पारेको छ।
एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता माघ ३ मा अमेरिका भ्रमणमा जान लागेको विषयमा विवादमा परेपछि सतेन्द्र शाह नेतृत्वको एनआरएनए अमेरिकाले विज्ञप्ति जारी गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ’एनआरएनए एनसीसी युएसएले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्र गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। एनआरएनए एनसीसी युएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।’
एनआरएनए एनसीसी युएसए अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।एनआरएनए एनसीसी युएसएको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको भनिएको छ।
यस्तै, संस्थाको नाम, इआईएन नम्बर, वेबसाइट वा एनआरएनए एनसीसी युएसएको साख प्रयोग गरी गरिएका कुनै पनि गतिविधिका लागि सम्बन्धित व्यक्ति वा समूह नै जिम्मेवार हुने विज्ञप्तिमा उल्लेख छ।
