पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीका लागि प्रख्यात छ। यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रसिद्ध बन्दै गएको छ। धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानको आम्दानीको प्रमुख स्रोत बनेको छ। प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुरमा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ।
‘यहाँ रुद्राक्षका करिब एक लाख बिरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो। रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौं। यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौं । मुखअनुसार यसको मूल्य पनि फरक हुने गरेको छ। यहींबाट एक जना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि व्यापारीलाई बिक्री गरेका छन्’, षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले भने।
अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडामा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन्। पहिले जंगलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यवसायिक रूपमा खेती गर्न थालिएको छ। यहाँका स्थानीय किसानका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ।
यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक संगसंगै सजावट र शृंगारका लागि पनि उपयोग हुँदै आएका छन्। यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्रीलगायतका वस्तु बनाउने गरिन्छ। भोजपुरमा उत्पादित भएका रुद्राक्ष तथा सामग्री काठमाडौं, धरान, विराटनगरलगायत र भारत र चीनमा समेत निर्यात हुने गरेका छन्।















तस्बिरः नेपाल फोटो लाइब्रेरी