काठमाडौं। भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको दोस्रो महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा निम्तो गरिएको छ।
आयोजक समितिले सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सहभागी हुन निम्तो बुझाएको हो। दोस्रो विशेष महाधिवेशन आयोजकको तर्फबाट देउवालाई निम्तो दिए पनि अस्वीकार गरिएको छ।
यसअघि व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यद्वारा हस्ताक्षतिर पत्र देउवासमक्ष बुझाइएको थियो।
देउवालाई निम्तो दिएको पत्रमा भनिएको छ, ‘बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई नयाँ ऊर्जा, एकता र रुपान्तरणसहित अघि बढाउन नेपालको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवशेन आयोजना हुन गइरहेको व्यहोरा अनुरोध छ।’
यस्तै, समारोहको समुद्घाटन र गरिमामय प्रमुख आतिथ्यताका लागि अनुरोध गरिएको छ। पत्रमा थप भनिएको छ, 'बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि’ भन्ने मूल मर्मका साथ हुन गइरहेको विशेष महाधिवेशनको समुद्घाटन समारोह निम्न मिति स्थान र समयमा हुने हुँदा उक्त समारोहको समुद्घाटन र गरिमामय प्रमुख आतिथ्यताका लागि हार्दिक अनुरोध गर्दै सादर आमन्त्रण गर्दछौँ।'
विशेष महाधिवेशनको निम्तोका बीच देउवाको सचिवालयले अस्वीकार गरेको छ। उनलाई निम्तो दिनका लागि नेता रामपल्टन साह सभापति देउवा निवास महाराजगञ्ज पुगेका थिए।
देउवा निवासमा प्रवेश पाएका उनले करिब आधा घण्टा कुरे पनि सभापति देउवासँग भेट्न पाएनन्। देउवाको निम्तो लिनका लागि स्वकीय सचिव भानु देउवा आएर निम्तो अस्वीकार गरेका थिए।
विशेष महाधिवेशनका लागि देउवासहित पार्टीका शीर्ष नेताहरूलाई निम्तो दिने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ।