काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमा गराइएको छ। सेजनले प्रत्येक सदस्यलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमासहित कुल सात लाख बराबरको सामूहिक दुर्घटना बिमाको कभरेज उपलब्ध गराएको हो।
स्वास्थ्य तथा दुर्घटना बिमाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले सेजन अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बिमा पोलिसी हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा सीईओ श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन्। उनले सबै नेपालीलाई बिमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राखिन्।
‘बिमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन’, उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’
सेजनले सदस्यको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गराएको अध्यक्ष भट्टराईले बताए।
स्वास्थ्य बिमाअन्तर्गतका सुविधा
स्वास्थ्य बिमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुनेबित्तिकै बिमा सुविधा पाउनेछन्। बिमाले माइनर सर्जरीका लागि १५ हजार, आकस्मिक सर्जरीका लागि ३० हजार र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ।
अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधोपचारसम्बन्धी खर्चसमेत बिमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए।
सामूहिक दुर्घटना बिमा
सामूहिक दुर्घटना बिमाअन्तर्गत सेजन सदस्यले एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भए अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन्। दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।
अध्यक्ष भट्टराईका अनुसार यो बिमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आवद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन्। कार्यक्रममा अध्यक्ष भट्टराईले भने, ‘हामीले आफ्ना सबै सदस्यको व्यावसायिक क्षमता अभिवृद्धिलगायतका काम गर्दै आएका छौं, जुन सधैं कायम रहन्छ। सदस्यको स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गर्दै यसपटक संस्थाको कोषबाट सबै सदस्यको बिमा गरेका हौं।’
उनले सदस्यको हितमा काम गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
नेपाल आर्थिक पत्रकार समाज आर्थिक, व्यवसायिक तथा वित्तीय क्षेत्रका विषयमा तथ्यपूर्ण सूचना प्रवाह गर्ने उद्देश्यले स्थापित व्यावसायिक आर्थिक पत्रकारको छाता संस्था हो। २०५४ मा गैर–नाफामूलक संस्थाका रूपमा स्थापना भएको संस्थामा हाल विभिन्न सञ्चार माध्यममा कार्यरत २७९ जना आर्थिक पत्रकार आबद्ध छन्।