काठमाडौं। नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन चार तन्काएर आजसम्म सारिए पनि पार्टीभित्रको विवादको गाँठो अझै फुकेको छैन।
कांग्रेस संस्थापनले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिनको हस्ताक्षरलाई मान्यता नदिनु र संस्थापन सभापति शेरबहादुर देउवाले सभापति छाड्न अस्वीकार गरेपछि मंगलबार दिनभरिका वार्ता निष्कर्षविहीन भए।
पार्टीलाई फुट्न नदिन आज पनि नेताहरूमा वार्तामै बस्दै छन्।
कांग्रेस संस्थापन, वरिष्ठ नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षधरबीच पार्टी एकता भत्किन नदिन अन्तिम प्रयासस्वरुप त्रिपक्षीय वार्ता गरिन लागेको हो। विशेष महाधिवेशन पक्षधर वार्ता टोलीका सदस्य देवराज चालिसेका अनुसार केही बेरमा वार्ता सुरु हुनेछ ।
आजको वार्तामा मंगलबार मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुनेछ। सभापति देउवाले उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्ने, देउवाले आगामी चुनाव लड्न नपाउने र नयाँ नेतृत्व चयन गर्ने विषयमा सहमति जुट्न बाँकी छ।
यसमध्ये देउवाका तर्फबाट हस्ताक्षर छाड्न तयार हुनेसहित सकारात्मक संकेत देखेको वार्ता टोलीका सदस्यले बताएका छन् । तर, नियमित महाधिवेशनमा नपुग्दै अहिले राजीनामा दिएर छाड्ने प्रस्ताव भने मुख्य असहमतिको विषय बनेको छ।
सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माबीच भेट हुने बताइएकाे छ। विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको अवस्था र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा उनीहरूबीच भेट हुन लागेकाे बुझिएकाे छ। देउवा निकट एक नेताका अनुसार बिहान ८ बजे छलफल गर्ने गरी सभापतिले दुई महामन्त्रीलाई बोलाएका थिए।
यद्यपि यसलाई दुवै पक्षले पुष्टि गरेका छैनन्।
कांग्रेस विशेष महाधिवेशनमा आज उम्मेदवारी मनोनयनको कार्यतालिका छ। यस्तै, सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।