काठमाडौं। कांग्रेसभित्रको झगडा मिलाउन संस्थापन र संस्थापन इतर पक्ष अझ पनि निरन्तर लागिरहेका छन्।
आज बिहान सभापति शेरबहादुर देउवासँग भेटेर विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा पार्टी एकता जिउँदै राख्ने पहलस्वरुप फेरि आठबुँदे प्रस्ताव सानेपा पठाएका छन्।
बिहान सभापति देउवासँगको वार्ता आधा निष्कर्षविहीन भए पनि पार्टी एकता कायम राखिराख्न विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट केन्द्रीय कार्यसमिति बैठक भइरहेको सानेपा मुख्यालयमा सहमतिका लागि आठबुँदे पठाइएको हो।
आठबुँदे प्रस्ताव संस्थापन र विशेष महाधिवेशन पक्षका लागि मिलनबिन्दु हुन सक्ने वार्ता समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
उनका अनुसार आठबुँदेमा कार्यकारी भूमिकाबाट सभापति देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, एमालेलगायत कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने,टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने माग राखिएको छ।
यस्तै, निर्वाचन केन्द्रित हुन ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने,उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने माग संस्थापन पक्षलाई बुझाइएको छ।
आठबुँदेमध्ये देउवा राजनीतिबाट विश्राम लिने कुरा अस्वीकार भनिसकेका छन्। यद्यपि टिकटमा आफ्नो हस्ताक्षर नपर्ने विषय छलफलमा लैजान सकिने संकेत दिएका छन्।
अहिले विशेष महाधिवेशन पक्षधरले पठाएको प्रस्तावमाथि सानेपामा छलफल भइरहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए।