काठमाडौं। करिब ८० वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनसँगै फुटेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूलाई पाँच वर्षका लागि निष्कासन गरेसँगै पार्टी फुटेको हो।
योसँगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भएको छ। नेतृत्वको कार्यशैलीले विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ इतिहास बनेको हो। विं.सं. २०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो। २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका कारण विभाजन भएको थियो।
तेस्रो पटक शेरबहादुर देउवाले नेतृत्व छाड्न नमान्दा फुटमा परिणत भएको हो। यस पटक देउवाले आफूभन्दा धेरै जुनियर महामन्त्रीद्यव गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रुपान्तरण गर्न प्रस्ताव गरेका थिए।
कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ सालमा भएको थियो। उक्त विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शमशेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए।
दोस्रो विशेष महाधिवेशन ठिक यसको उल्टो भएको छ। महामन्त्रीद्यव थापा र शर्माले दुई कार्यकाल पूरा गरेका देउवालाई सभापतिको जिम्मेवारीमा नबस्न आग्रह गरेका थिए। यसैबीच पार्टीको बहुमत प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशनमा जान अस्वीकार गरेका देउवाले आगामी फागुन २१ गते हुने निर्वाचमा आफूले हस्ताक्षर गर्नुपर्ने अडान राखेका थिए।
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न माग राख्दै गर्दा देउवाले जस्तोसुकै परिस्थिति आए पनि सामाना गर्नुपर्ने आफू निकट नेताहरूलाई निर्देशन दिएका थिए। उनको निर्देशनसँगै गत प्रतिनिधिसभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेस दुई भागमा विभाजन भएको हो।
यसरी सुरु भएको थियो फुटको सुरु
कांग्रेसको पहिलो फुट राणाविरुद्ध आन्दोलन गर्नुपर्ने भएकाले पार्टीभित्र एकीकृत र सशक्त बनाउनुपर्ने दबाब थियो। त्यसैले २००७ असोज १० र ११ मा रौतहटको सीमा बैरगनीयामा कांग्रेसले सम्मेलन राखिएको थियो।
त्यसमा सशस्त्र क्रान्तिबाट मात्र देशमा परिवर्तन सम्भव हुने निष्कर्ष निस्कियो। त्यसपछि क्रान्तिको सुप्रिम कमाण्डर सभापति मातृकाप्रसाद कोइराला र क्रान्ति सञ्चालनको बागडोरको जिम्मा बिपी र सुवर्ण समशेरलाई दिइएको थियो।
यसैबीच २००७ कार्तिक २१ मा राजा त्रिभुवन नाति ज्ञानेन्द्रबाहेक सपरिवार गद्दी त्यागेर दिल्ली शरण लिन पुगे। दिल्लीमा राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता भएसँगै जहाँनिया राणा शासनको अन्त्य भयो।
त्यसपछि बनेको सरकारमा कांग्रेसको नेतृत्व बीपी सामेल भए। उनी गृहमन्त्री बने। तर, राणाहरूसँगको द्वन्द्वका कारण बीपीले छोटो समयमा राजीनामा दिए।
त्यसपछि दरबार र भारतको साथ पाएका मातृका २००८ मंसिर १ मा प्रधानमन्त्री नियुक्त भए। तर, बीपी समूहले मातृका सरकारलाई सहयोग गरेन।
विवादकै बीच २००९ जेठ १० देखि १३ गतेसम्म कांग्रेसले आफ्नो पाँचौँ महाधिवेशन गर्यो। जुन नेपालभित्र पहिलो कांग्रेसको महाधिवेशनसमेत थियो। उक्त महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भए।
त्यसपछि पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दिए। तर, पार्टीले भनेको नमानेका कारण उनीसहितका नेताहरूलाई पार्टीले कारवाही गर्यो। त्यसैबीच साउन १० गते मातृकासहित नेताहरूले राजीनामा दिए।
लगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरे। बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गरे। मातृका आफैँले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ स्थापना गरे।
पहिलो पटक पार्टी फुटेको ५० वर्ष अथार्तत २०५९ सालमा कांग्रेस दोस्रो पटक फुटेको थियो २०५७ साल माघ ९ मा कास्कीको पोखरामा कांग्रेसको दशौँ महाधिवेशन सम्पन्न भयो। यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो। जसअनुसार केन्द्रीय कार्य समितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो।
सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए। कोइराला र जोशी दोस्रो पटक प्रतिस्पर्धा गर्दै थिए। देउवा पहिलो पटक उम्मेदवार बने। यो महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सभापति बने।
त्यस महाधिवेशनको वर्ष दिनपछि कांग्रेस फुटेको थियो। यसको मूल कारण पनि देउवा नै थिए। उनले प्रधानमन्त्री बनेका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई खुसी बनाउन माओवादी आन्दोलन दबाबउने प्रयास गरे।
त्यो विवादबीच पार्टीले सहमति नदिँदा देउवाले जबर्जस्ती गरे। संकट कालको अवधि थपे। २०५९ असार पहिलो साता त्यो समयमा प्रधानमन्त्री बनेका देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गराए।
सोही भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो। देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नयाँ पार्टी बनेको थियो।