काठमाडौं।अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगन घोषणा गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिक अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै हालका लागि आप्रवासी भिसा स्थन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
विदेश विभागले बुधबार विज्ञप्ति जारी गर्दै आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अधिकारीलाई यी देशका आवेदकको भिसा प्रक्रिया रोक्न निर्देशन दिएको छ। यो निर्णय नोभेम्बरमा जारी गरिएको पब्लिक चार्जसम्बन्धी कडा नियमको हिस्सा भएको मन्त्रालयले जनाएको छ।
अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न र सरकारी कोषमाथिको भार कम गर्न यो नीति ल्याइएको हो। मन्त्रालयले प्रक्रिया पुनरवलोकनपछि मात्र भिसा प्रक्रिया पुनः सुचारु गर्ने वा नगर्नेबारे थप निर्णय लिइने बताएको छ।
यो स्थगन केवल आप्रवासी (ग्रीनकार्ड पाउने) भिसाका लागि मात्र हो। अस्थायी रूपमा अमेरिका भ्रमण गर्ने पर्यटक, व्यवसायी वा विद्यार्थी भिसाका आवेदकलाई भने यो नियमले प्रत्यक्ष रूपमा रोक्ने छैन। तर, यस्ता भिसा आवेदकको हकमा पनि छानबिन प्रक्रिया कडा पारिएको छ।
दूतावासलाई पठाइएको गोप्य निर्देशन अनुसार, गैर–आप्रवासी भिसामा जानेहरूले पनि अमेरिकामा सरकारी सुविधा नलिने कुराको बलियो प्रमाण पेस गर्नुपर्नेछ। कन्सुलर अधिकारीले अब आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, शिक्षा, दक्षता र अंग्रेजी भाषाको ज्ञानलाई सूक्ष्म रूपमा मूल्यांकन गर्नेछन्।
नयाँ व्यवस्थाका कारण अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन पर्खिरहेका र रोजगारी आधारमा अमेरिका जान चाहने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन्।
भिसा स्थगित गरिएका ७५ देशको सूचीमा नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलगायत दक्षिण एसियाली मुलुक पनि छन्। –एजेन्सी