काठमाडौं। अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेर शीर्षस्थ नेताहरुलाई मारेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले खाडी मुलुकमा रहेका अमेरिकी संरचना केन्द्रित आक्रमण बढाएको छ। इरानले अमेरिकी सैनिक बेस क्याम्प रहेका दुबई, कतार, ओमान, साउदी, कुवेत, जोर्डनलगायत छिमेकी देशमा मिसाइल र ड्रोन आक्रमण बढाएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज इरानले साउदीमा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको छ। रियादस्थित दूतावासमा आज बिहान ड्रोन आक्रमण भएको हो। ड्रोन आक्रमणबाट भएको क्षतिको विवरण आएको छैन।
दूतावासले सूचना जारी गर्दै आफ्ना कर्मचारी र नागरिकलाई सतर्क रहन भनेको छ। जो जहाँ छन्, त्यहाँको सुरक्षित ठाउँमा गएर बस्न भनिएको छ। अमेरिकी दूतावासको सुरक्षामा करिब ७० प्रतिशत कर्मचारी नेपाली छन्। प्रारम्भिक सूचनाअनुसार उनीहरु सबै सुरक्षित रहेको बताइएको छ। अमेरिकी राजदूत दूतावासबाट निस्किएर होटलमा पुगेको बताइएको छ।
अमेरिकाले खाडीमा रहेका आफ्ना नागरिकलाई तत्काल सो क्षेत्र छाड्न सूचित गरेको छ। उनीहरुलाई सुरक्षित ठाउँमा गएर बस्न भनिएको छ। इरान, बहराइन, इराक, इजिप्ट, इजरायल, कतार, ओमन, लेबनान, कुवेत, जोर्डन, साउदी, सिरिया, युएई, यमनलगायत देशमा रहेका आफ्ना नागरिकलाई सो क्षेत्र छाड्न भनेर अमेरिकाले भनेको हो। अमेरिकी अधिकारीहरुले उल्लेख गरिएका देशबाट अमेरिकीलाई तत्काल छाडनुपर्ने बताएका छन्।–एजेन्सी