काठमाडौं। नेपाली कांग्रेसको पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा चलेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका गगन थापा नेतृत्वकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। संस्थापन शेरबहादुर देउवा समूहबाट निष्कासनमा परेका थापालाई पुस ३० मा विशेष महाधिवेशनले सभापति चुनेको थियो।
थापाको नेतृत्वमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले देउवा समूहबाट भए÷गरेका क्रियाकलापको समीक्षा, पार्टीको आगामी रणनीति, निष्कासनको निर्णय खारेजलगायत विषयमा छलफल गर्ने बुझिएको छ।
ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने गरी पहिलो केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ। यस्तै, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन्।
सह–महामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारु) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन्।
केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।