काठमाडौं। भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको कांग्रेसको विशेष महाधिवेशनमा उपस्थित बहुमत सदस्यले सभापतिमा गगन थापालाई निर्वाचित गरेपछि विधिवत विवाद सुरु भएको पार्टीको संस्थापन पक्ष शेरबहादुर देउवा समूह निर्वाचन आयोग पुगेको छ।
आज आयोग पुगेको देउवा समूहलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगरिने बताएका छन्। भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै निर्णयमा पुग्ने जानकारी दिएका छन्।
‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौं। हाम्रा नजिर र परम्परा पनि हेर्छौं।’
यसैबीच देउवा समूहले आयोगमा ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाएको बताएको छ। देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण आयोगमा बुझाएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन्। विशेष महाधिवेशन विधानसम्मत नभएको दाबीसहित देउवा समूह आयोग पुगेको हो।
विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ता प्रमाण बुझाएको कार्यवाहक सभापति खड्काको भनाइ छ।