काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरुराज घिमिरेले शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा उठाएका प्रश्नहरू राजनीतिक प्रोपगाण्डा मात्र भएको प्रतिक्रिया दिएका छन्। देउवा पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि घिमिरेले सात बुँदे ध्यानाकर्षण सार्वजनिक गरेका हुन्।
गगन थापा समूहबाट निर्वाचित महामन्त्री घिमिरेले विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण कागजात निर्वाचन आयोगमा पुगिसकेपछि प्रतिनिधि संख्याको फिर्ताको प्रसङ्ग तर्कहीन भएको बताएका छन्। महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केवल राजनीतिक प्रोपगाण्डा मात्र भएको उनको तर्क छ।
घिमिरेले तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्। तीन महिनासम्म विशेष महाधिवेशनको माग छलफलको विषय नै नबनाउने, विशेष महाधिवेशन औचित्यपूर्ण नै नभएको भनी तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम समेत सम्पन्न नगरी बिना सूचना वडा अधिवेशन रोक्ने जस्ता कार्य भएको उनले औंल्याएका छन्।
त्यसको दुई दिनपछि मात्र तत्कालीन कार्यसम्पादन समितिको बैठक बसी चार महिनापछिको मितिमा नियमित महाधिवेशन घोषणा गरिएको थियो। घिमिरेले यस्तो निर्णय विधिसम्मत नदेखिएको बताएका छन्। तत्कालीन केन्द्रीय समिति आफैं कार्यतालिकाको उल्लंघनकर्ता भएको उनको आरोप छ।
विशेष गरी घिमिरेले तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको तीन महिनापछिको मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य भएको बताएका छन्।
विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र हस्ताक्षर फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको घिमिरेले जानकारी दिएका छन्। बाँकी सबै प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा नै रहेको उनको भनाइ छ।
आफैं उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापति शेरबहादुर देउवाले अहिले आएर विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो भएको घिमिरेले टिप्पणी गरेका छन्।
तथ्यांकको हवाला दिँदै घिमिरेले विशेष महाधिवेशनको माग गर्दा दुई हजार ४८८ जना महाधिवेशन सदस्यको हस्ताक्षर रहेको बताएका छन्। यो सम्पूर्ण सदस्य संख्या चार हजार ६३५ को ५४ दशमलव ५८ प्रतिशत थियो। तर वास्तविक महाधिवेशनमा सहभागी संख्या दुई हजार ६५२ अर्थात् ५७ दशमलव २१ प्रतिशत भएको उनले जानकारी दिएका छन्। यसले माग गर्ने संख्याभन्दा बढी प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएको देखिएको छ।
घिमिरेले केन्द्रीय कार्यालयबाट प्रवक्ता मार्फत आधिकारिक धारणा छिट्टै आउने जनाएका छन्। नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि दुई समूहबीच आधिकारिकताको विवाद चर्किएको छ।