पाल्पा। पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधाम क्षेत्रमा माघे संक्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ। पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो।
यहाँ आउने दर्शनार्थी स्नानसँगै मेलामा रमाउने गरेका छन्। मेलाको आकर्षणका रूपमा कृतिम ड्याममा सञ्चालन गरिएको डुंगा रहेको छ। पर्यटक आकर्षित गर्न यस वर्ष यहाँका युवाले रिडी खोलालाई थुनेर ताल निर्माण गरी डुंगा सञ्चालनमा ल्याएका छन्, जुन मेला भर्न आउनेको आकर्षणको केन्द्र बनेको छ।
यहाँ आउने जोकोही डुंगा सयर गरे मात्र फर्कने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणि तिमिल्सेनाले बताए। बिहीबार पहिलो दिन नै ६९३ जनाले डुंगा सयर गरेका थिए। डुंगा चढ्नेबाट पहिलो प्रतिव्यक्ति ३०० लिइए पनि दोस्रो दिन शुल्क घटाएर २०० पुर्याइएको छ।
भीड बढ्दै गएपछि एक फन्को मात्रै लगाउने भएकोले शुल्क पनि घटाएर प्रतिव्यक्ति २०० मात्रै तोकिएको तिमिल्सेनाले बताए। अहिले पनि तालमा डुंगा चढ्नेको भीड छ। पेट्रोलबाट चल्ने उक्त बोट ११ जना अट्ने क्षमताको छ। स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुंगा चलाउन ताल बनाएका हुुन्।
मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएका छन्। गुल्मी र पाल्पातर्फ गरी २०० भन्दा बढी स्टल छन्। रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्री प्रर्दशनीकक्षमा छन्।
मेलामा गुल्मीको थोर्गालगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका प्रदर्शनी कक्ष राखेका छन्। संक्रान्तिका अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन्।–रासस