काठमाडौं। एनआरएनए पदाधिकारी कांग्रेस र एमालेमा विभक्त भएपछि सुरु भएको विवाद मिलाउन गर्ने भनिएको एकता महाधिवेशन फेरि सरेको छ।
सदस्यता र निर्वाचन मोडालिटीमा कुरो नमिलेपछि एकता महाधिवेशनको मिति सरेको हो।फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको गैरआवासीय नेपाली (एनआरएनए)को १२औं एकता महाधिवेशन मार्च महिनाका लागि सरेको छ।
गत नोभेम्बर ३० मा सिंहदरबारस्थित प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेशकुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई समूहबीच ऐतिहासिक एकतासँगै महाधिवेशनबाट नयाँ नेतृत्व छनोटको सहमति भएको थियो।
सहमतिअनुसार गठित स्टेरिङ कमिटीले एकताको महाधिवेशन गर्ने निर्णय गरे पनि निर्वाचनको मोडालिटीका विषयमा कुरा नमिल्दा नयाँ मिति तय गर्नुपरेको स्टेरिङ कमिटीका एक सदस्यले बताए।
एकताको महाधिवेशन आगामी मार्च १३ देखि १५ सम्म होटल सोल्टीमा आयोजना गरिनेछ। शुक्रबार बसेको स्टेरिङ कमिटीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको स्टेरिङ कमिटीका सदस्य एवं पूर्वअध्यक्ष विनोद कुँवरले बताए।
महाधिवेशन सर्नुको मुख्य कारण सदस्यता वितरण र निर्वाचनको माध्यम (मोडालिटी) मा देखिएको विवाद हो । । महेश श्रेष्ठ पक्षले सर्वोच्च अदालतको परमादेशलाई पालना गर्दै सदस्यता विवाद टुंगो लगाएर भौतिक रूपमै (फिजिकल) उपस्थित भएर मतदान गर्नुपर्ने अडान राखेको छ। केसी समूहले भने अनलाइन माध्यमबाटै महाधिवेशन र निर्वाचन गरिनुपर्ने प्रस्ताव गरेको बुझिएको छ।
सदस्यता लिन चाहनेलाई थप प्रोत्साहन गर्न र उनीहरूलाई समय उपलब्ध गराउन सदस्यता नवीकरण तथा नयाँ आवेदनको म्याद जनवरी २४ सम्म थप गरिएको पूर्वअध्यक्ष कुँवरले बताए। उनका अनुसार सरकारको आन्तरिक निर्वाचन तालिका र एनसीसीहरूलाई अझै एकताबद्ध बनाउनुपर्ने आवश्यकताअनुसार महाधिवेशन पछाडि सारिएको हो।
निर्वाचनको अन्तिम मोडालिटी तय गर्न अब एनआरएनएको तालुकदार निकाय परराष्ट्र मन्त्रालयसँग समन्वय गरिने निर्णय बैठकले गरेको छ।