काठमाडौं। विशेष महाधिवेशन बहुमत प्रतिनिधिले निर्वाचित गरेको सभापति गगनकुमार थाप नेतृत्वको कांग्रेस केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि असन्तुष्ट पूर्वसभापति शेरबहादुर देउवा समूह त्यसविरुद्ध अदालत जाने भएको छ। देउवा समूहले भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिको भेलाबाट भएको बहुमत निर्णयलाई अझै पनि अस्वीकार गरेको देखिएको हो।
कांग्रेस सभापतिमा गगन नेतृत्व आधिकारिक भइसकेपछि पनि लेटरप्याडको दुरुपयोग गर्दै आज बिहान बोलाइएको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयलाई चुनौती दिने भएको हो।
बैठकले आयोगले माघ २ को आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको छ। कांग्रेसको विघटित केन्द्रीय समिति पार्टीको आधिकारिकताविरुद्ध अदालत जाने भएको छ।
‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई विरोध गर्दै यो बैठक उक्त निर्णयविरु संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता प्रकाशशरण महतले भने, ‘भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं।’
बैठकमा विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नपुगेको दाबी गरिएको छ।
महतले भने, ’देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित संख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए। महतले देउवा नेतृत्वको समिति नै आधिकारिक रहेकाले सानेपा नछाड्ने उनको भनाइ छ।
देउवा समूहले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ।
देउवा समूहको सानेपा बैठक बोलाइए पनि ढुलमुले भनेर आलोचनामा परेका वरिष्ठ नेता शेखर कोइराला, चन्द्र भण्डारीलगायतले गगन नेतृत्वलाई वैध मानेर वार्तामार्फत समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्। नेता कोइरालाले कांग्रेसलाई हानि नहुने गरी पार्टी एकता जरुरी रहेको बताउ। उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग सभापति गगन नेतृत्वले वार्ता गरेर विवाद किनारा लगाउनुपर्ने सुझाए।
यसैगरी कांग्रेस नेतृ एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्र सुजाताले पनि गगनलाई सभापतिमा निर्वाचित भएकामा बधाइ दिएकी छन्।
उनले केही ढिलो नेतृत्व परिवर्तन हुने अवस्थामा चाँडै नै सभापति निर्वाचित भएकाले गगनलाई बधाइको शुभकामना दिएको सामाजिक सञ्जालबाट उल्लेख गरेकी छन्। उनले पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको भदौ २३ र २४ को आन्दोलनले पुष्टि गरेकोसमेत बताएकी छन्।
नेतृ कोइरालाले गगन थापालाई पार्टीको नयाँ सभापतिका रूपमा बधाई दिँदै परिवर्तनलाई आत्मसाथ गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै कोइरालाले गगन थापाको नेतृत्वलाई पूर्ण समर्थन जनाएकी हुन्। नेतृ कोइरालाले मुलुक र जनताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसभित्र आएको नेतृत्व परिवर्तनलाई डराएर नभई हाँसेर स्वागत गर्नुपर्ने बताएकी छिन्।
कोइरालाले गगन थापालाई नयाँ सभापतिको रूपमा बधाई दिँदै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएकी छिन्। उनले भनिन्, ’नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु। नेपाली कांग्रेसलाई राम्ररी हाँकेर, बीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी तपाईं अघि बढ्नुस्।’
उनले नेतृत्व परिवर्तन अलि छिटो भएको भए पनि यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताइन्। ’अलि छिटो आउनुभयो, त्यति मात्र फरक हो,’ कोइरालाले भनिन्।
पार्टीभित्रको विवाद र विभाजनको हल्लालाई खण्डन गर्दै नेतृ कोइरालाले नेपाली कांग्रेस एकढिक्का रहेको दाबी गरेकी छिन्। उनले पार्टीको झन्डा र चुनाव चिन्ह यथावत रहेको भन्दै कार्यकर्तालाई विचलित नहुन आग्रह गरिन्।
नेतृ कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर धेरै कानूनी व्याख्या नगर्न पनि सुझाव दिएकी छिन्। उनले भनिन्, ’कानूनको व्याख्या धेरै नगर्नुस्। अहिले मुलुकले परिवर्तन चाहेको छ, त्यो परिवर्तनलाई हामीले स्वीकार्नुपर्छ।’उनले निराश नहुन र अर्को चुनावमा सहभागी भएर कांग्रेसलाई जिताउन कार्यकर्तालाई आग्रह गरिन्।