काठमाडौं । कोरोना भाइरसको कारण सबै उडानहरु बन्द भइरहेको बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई सामाजिक दूरी कायम गराउन भन्दै मार्किङ गरिरहेको छ ।
कोरोना भाइरसको प्रभाव कम भएसँगै हवाई उडानहरु सुचारु गराउनका लागि आवश्यक तयारी अनुरुप विमानस्थलमा रहेका विभिन्न एयरलाइन्सहरुको टिकट काउण्टर अगाडी मार्किङ गरिरहेको हो ।
क्यानमा महानिर्देशक राजन पोखरेलले देशका सबै विमानस्थलहरुमा मार्किङ गर्न थालिएको जानकारी दिए । कोरोना भाइरसको प्रभाव कम भएपछि सरकारले यदि उडान सुचारु गर्न निर्देशन दिइहालेमा तयारी अवस्थामा राख्नका लागि टिकट काउण्टर ,बोर्डिङ पासदेखि भन्सार समेतमा मार्किङ गरिरहेको उनले बताए ।
विमानस्थलमा आउने यात्रुहरुलाई कुनै पनि जोखिम नहोस भन्ने उद्धेश्यले क्यानले अहिले सर्तकता अपनाउदै सामाजिक दूरी कामय गर्न विभिन्न नियमहरु बनाइरहेको उनले जानकारी दिए । सामाजिक दूरीसँगै यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनेदेखि स्यानीटाइजर गराउने समेतको प्रवन्ध मिलाइरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक देवेन्द्र केसीले पहिलो चरणमा आन्तरिक उडान तर्फ मार्किङ गरिरहेको र पछि अन्तर्राष्ट्रिय उडान तर्फ पनि मार्किङ गर्ने जानकारी दिए । सरकारले हवाई उडान सुचारु गराउदा पहिलो चरणमा आन्तरिक नै गराउने भएकोे छ । अहिले आन्तरिकतर्फ काम भइरहेको उनको भनाई छ ।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भाइरसको संक्रमण नदेखिएको क्षेत्रमा हवाई उडान गर्नसक्ने बताउदै आएका छन् । तर, उडान सम्बन्धी उच्चस्तरीय समितिले निर्णय भने गरेको छैन । पर्यटन मन्त्रीले केही समय भित्रै आन्तरिक उडान गर्न सक्ने भनेसँगै क्यानले सबै विमानस्थलहरुमा आवश्यक तयारी गरिरहेको हो ।
त्यति मात्र हैन,अहिले आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले पनि आ आफ्नो गाइडलाइनहरु बनाइरहेको छ । आफ्नो विमानमा आउने यात्रुलाई कसरी सुरक्षित बनाउने भन्दै विभिन्न एयरलाइन्सहरुले स्वास्थ्य निर्देशीकाहरु बनाइरहेको छ ।
यसैबीच केहि समयअघि मात्र बुध्द एयरले स्वास्थ्य निर्देशिका सार्वजनिक गर्दै आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने,एयरलाइन्सको तर्फबाट दिदै आएको क्याटरीङ सेवा बन्द गर्ने र शौचालय समेत बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै रुघाखोकी लागेका यात्रुहरुले समेत बुध्द्ध एयरमा यात्रा गर्न पाउने छैनन् ।