काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ।
मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको धारणा छ। सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात् गरेकोमा महासंघले स्वागत गरेको छ।
निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मौद्रिक नीतिले अवलम्बन गरेको लचिलो कार्यदिशा उपयुक्त रहेको महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बताए।
'महासंघले लामो समयदेखि उठाउँदै आएका विभिन्न विषयलाई मौद्रिक नीतिमा सम्बोधन गर्ने प्रयास गरिएको छ,' अध्यक्ष श्रेष्ठले भने, 'व्यक्तिगत जमानीका आधारमा सिर्जना हुने असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने व्यवस्था, रुग्ण उद्योगमा रहेको निस्कृय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने उपाय सकारात्मक छन्। त्यस्तै, संस्थागत क्षमताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण र सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनका लागि कर्जा–धितो अनुपातलाई थप सहज बनाउने व्यवस्था सकारात्मक छ।'
तथापी महासंघले साना तथा मझौला र ठूला उद्योग व्यवसायहरु र विभिन्न क्षेत्रगत कर्जाको पुनर्संरचना तथा पुनर्तालिकिकरणको सम्बन्धमा अब आउने निर्देशिकामा स्पष्ट रुपमा समेटिनु पर्नेमा जोड दिएको छ। नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयले नीतिगत स्थिरता कायम गर्ने महासंघको बुझाइ छ। यसले लगानीकर्तामा विश्वास बढाउने र व्यवसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको डिजिटलाइजेसन, वित्तीय लागत न्यूनीकरण, सेवाको गुणस्तर सुधार र नियामकीय व्यवस्थालाई थप सरल, स्पष्ट र प्रभावकारी बनाउने नीतिको महासंघले स्वागत गरेको छ। बैंक तथा वित्तीय संस्थाका निर्देशनहरू सरलीकरण गर्ने र विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णयले व्यापार, लगानी र वैदेशिक कारोबारलाई सहज बनाउन सहयोग पुग्ने महासंघको अपेक्षा छ।
पर्याप्त विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आय र सेवा निर्यातमा वृद्धि भई बाह्य क्षेत्र सुदृढ रहने राष्ट्र बैंकको प्रक्षेपणले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास महासंघले लिएको छ।
महासंघले मौद्रिक नीतिसँगै सरकारले अघि बढाएको आर्थिक सुधार कार्यक्रम, लगानीमैत्री कानुनी सुधार, पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन र परियोजनाको गतिलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय कायम भएमा मात्र अपेक्षित आर्थिक रूपान्तरण सम्भव हुने महासंघको विश्वास छ।
निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, लगानी विस्तार र दिगो आर्थिक विकासका लागि राष्ट्र बैंक र सरकारसँग निरन्तर सहकार्य गर्दै रचनात्मक सहयोग गर्न महासंघले प्रतिबद्धता व्यक्त गरेको छ। सार्वजनिक निजी क्षेत्रबीचको संवाद र नीतिगत स्थिरतामार्फत अर्थतन्त्रले थप गति लिने महासंघको धारणा छ।
यसैबीच महासंघले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था लचिलो बनाउने निजी क्षेत्रको मागलाई गहन रुपमा हेर्नुपर्ने, वाच लिस्ट र ब्ल्याक लिस्टिङसम्बन्धी व्यवस्थालाई हालको अवस्थामा दुई वर्षको लागि लचिलो र सहज बनाउनु पर्ने तथा वित्तीय क्षेत्र सुधार २.० अघि बढाउनु पर्ने धारणा राखेको छ।
निजी क्षेत्रले बैंकिङ क्षेत्रको पुनः पूँजीकरण, निष्क्रिय सम्पत्ति व्यवस्थापन, जोखिम साझेदारी संयन्त्रको विस्तार तथा उत्पादनशील क्षेत्रलाई लक्षित वित्तीय उपकरणहरूको विकासलाई समेट्ने दोस्रो पुस्ताको वित्तीय सुधार कार्यक्रम कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएको छ।