काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भदौ २७ मा अन्तरिम सरकार प्रमुख बनेकी सुशीला कार्कीले पुस ११ सम्म पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेर १५ सदस्यीय पुर्याएकी थिइन्। कार्की नेतृत्वको सरकार पाँचौं पटक विस्तार हुँदा बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन्।
कार्कीले यसअघि भदौ ३०, असोज ६, कात्तिक ९ र मंसिर २६ मा मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। मन्त्रिपरिषद् विस्तार गर्दा सुरुमा ४ र पछि १५ सदस्यीय बनाएकी थिइन्।
फागुन २१ भित्र निर्वाचन गराउने सर्तसहित पुस २७ प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले त्यसयता मुख्य दल कांग्रेस र एमालेमा आस्थावान् विभिन्न व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
राजनीतिमा संलग्न नभएका सदस्य मन्त्री नियुक्त गर्दै आएको दाबी गरिए पनि मन्त्रीहरुले भटाभट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा उत्रिँदा प्रधानमन्त्रीको काँधमा मन्त्रालयको गह्रौं भारी सम्हाल्ने जिम्मेवारी आइपरेको छ।
सुरुमा भौतिक पूर्वाधारसहित तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गरेर राजनीतिमा हाम फालेपछि राजीनामा दिएका थिए। त्यसयता सञ्चारमन्त्री जगदीश खरेल, खेलकु्दमन्त्री बब्लु गुप्ता, शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन्।
कार्कीले भदौ ३० गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी रामेश्वर खनाललाई अर्थ, कुलमानलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओमप्रकाश अर्याललाई गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिँदै ४ सदस्यीय बनाइन्। दोस्रो पटक असोज ६ गते ४ मन्त्री थप्दै मन्त्रिपरिषद् ८ सदस्यीय बनाइन्।
अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीरलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइन्। त्यस दिन भदौ ३० गते मन्त्री अर्याललाई दिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी खोसेर कार्कीले सिन्हालाई दिएकी थिइन्।
कात्तिक ९ गते प्रधानमन्त्री कार्कीले तेस्रो पटक विस्तार गरी २ मन्त्री थपेर मन्त्रिपरिषद् १० सदस्यीय बनाइन् । त्यो दिन कार्कीले सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइन्। प्रधानमन्त्री कार्कीले मंसिर २६ गते चौथो पटक ४ मन्त्री थपेर मन्त्रिपरिषद् १४ सदस्यीय बनाइन्। त्यो दिन कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधवप्रसाद चौलागाईलाई वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइन्।
असोज ६ गते सिन्हालाई दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय उनीबाट खोसेर इङ्नामलाई दिइन्। पछिल्लो समय मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैंले लिएकी छन्।
उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी छन्। सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार तोकेको उनको कार्यालयले जानकारी दिएको छ।
’सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो,’ राष्ट्रपति कार्यालयको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीमाथि २० मध्ये ९ वटा मन्त्रालयको जिम्मेवारीको भारी आइलागेको छ।