काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्रीले टिकट पाए पनि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई विश्राम दिइएको छ। पाँचपटक प्रधानमन्त्री र सातौंपटक सांसद बन्ने रुचि देखाएका देउवालाई भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनले सभापतिबाट बर्खास्त गरेसँगै उनको राजनीतिमा विश्राम लागेको ठानिएको छ।
२०४८ को निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटकको निर्वाचनमा उम्मेदवार नपाएका हुन्। तर, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। यी सबै कम्युनिस्ट पार्टीबाट प्रतिनिधित्व गर्ने उम्मेदवार हुन्।
मंसिर अन्त्यमा अर्ली महाधिवेशन गराएर एमाले कब्जा गरेका र ६ पटक सांसद एवं ५ पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवार बनेका छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ज्यान जोगाउन बालुवाटारबाट सैनिक हेलिकोप्टरबाट भागेका ओलीले एमाले नेतृत्व परिवर्तनलाई निषेध गरेर पुस्तान्तरणमा रोक लगाएका छन्।
यस्तै, चारपटक प्रधानमन्त्री बनिसकेर पाँचौं पटक सांसद बन्ने लाइनमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि रुकुम पूर्व निर्वाचन १ बाट चुनाव लड्दै छन्। दाहालको तत्कालीन पार्टी नेकपा माओवादी केन्द्रमाथि पनि पुस्तान्तरणको आवाज उठेपछि उनले संयोजक मात्रै रहने गरी पदत्याग गरेका थिए। तर, पछि १० वटा कम्युनिस्टलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि अहिले संयोजक छन्।
सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र १ बाट उम्मेदवारी दिएका छन्।, नेपाल पनि प्रधानमन्त्री र अहिलेसहित छैटौं पटक सांसद बन्ने लाइनमा छन्। भारतीय रामदेव गुरुको कम्पनी पतञ्जलीको जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागे पनि नेता नेपालले चुनावी मैदानमा उत्रिएका हुन्।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनेका छन्। यसअघि पुष्पकमल दाहालको पार्टीमा रहेर अर्थमन्त्री, प्रधानमन्त्रीसमेत भइसकेका भट्टराईमाथि भ्रष्टाचारको आरोप नलागे पनि अस्थिर नेताको रुपमा चिनिन्छन्।
यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए। सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक दाहाललाई सहयोग गरेका थिए।